चितवन । माओवादी केन्द्रका केन्द्रीय सदस्य यमबहादुर परियार इन्द्रजीत नेकपा एमाले प्रवेश गरेका छन् ।
माओवादी केन्द्र, चितवन जिल्ला सहइञ्चार्ज समेत रहेका परियार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेका हुन् ।
भरतपुर महानगरपालिका वडा नं. १३ घर भएका परियार एमाले र माओवादी मिलेर बनेको नेकपा कालमा चितवन जिल्लाको अध्यक्ष भएर काम गरेका नेता हुन् । २०६४ सालको संविधानसभा निर्वाचन चितवन-१ बाट उम्मेदवार बनेर परियार एमाले नेता लालमणि चौधरीसँग पराजित भएका थिए ।
झण्डै १२ वर्षभन्दा बढी जिल्ला अध्यक्ष भएर काम गरिसकेका परियारलाई माओवादी केन्द्रले चितवन निर्वाचन क्षेत्र नं. ३ (ख)बाट प्रदेश सांसदका लागि सिफारिस गरेको छ ।
परियारसँगै माओवादीको भरतपुर महानगरपालिका सहइञ्चार्ज अञ्जन तिमिल्सिना, बागमती प्रदेश परिषद सदस्य पिताम्बर पोखरेल, कालिका नगर कमिटी उपाध्यक्ष तुलबहादुर बिक, जिल्ला सदस्य लावण्यराज शर्मा, वडा नं. १६ का वडाध्यक्ष नारायण अधिकारी, वडा नं.१५ का वडाध्यक्ष आकाश थापा, माडी नगरपालिका ७ देवेन्द्रपुरका गिरीधारी सुवेदीसहितका नेता कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन् ।
जिल्ला अध्यक्ष भइसकेका परियारलाई माओवादी केन्द्रले बेवास्ता गर्दै आएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत परियारलाई राम्रो जिम्मेवारी नदिएपछि परियार समूह असन्तुष्ट थियो ।
परियारसहित अन्य नेताहरु पनि एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, केन्द्रिय सदस्य जेएन थपलिया, देवी ज्ञवालीलगायत सहभागी थिए ।