काठमाडौँ । डिभिजन वन कार्यालय सुर्खेतको हिरासतमा आरोपितको मृत्यु भएको विषयमा छानबिनका लागि समिति गठन गरिएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्री र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीसँग गरिएको छलफलपछि पाँच सदस्यीय छानबिन समिति गठन गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा समिति बनाइएको हो।
छानबिन समितिमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका एक जना अधिकृत, राष्ट्रिय अनुसन्धान कार्यालय सुर्खेतका एक जना अधिकृत, जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानुन सचिव सदस्य रहेको प्रजिअ रिजालले बताए।
उक्त समितिले घटनाको बारेमा छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउनु पर्नेछ।
वनसम्बन्धी मुद्दामा पक्राउ गरिएका व्यक्तिको कार्यालयका हिरासतमा मृत्यु भएको पाइएपछि आफन्त आन्दोलन बनेका छन्।
बिहीबार डिभिजन वन कार्यालय सुर्खेतमार्फत पक्राउ गरिएका वीरेन्द्रनगर-१३ भूतचोकका ५८ वर्षीय धनीराम लामिछानेको वन कार्यालय पुर्याउने बित्तिकै मृत्यु भएको थियो।
आफन्तले पक्राउ गर्नेहरूबाट कुटपिट भएपछि लामिछानेको मृत्यु भएको आरोप लगाएका छन्।
बिहीबार वन कार्यालयमै पुगेर आन्दोलन गरेका आफन्तले आज जिल्ला प्रहरी कार्यालय सुर्खेतमा चार जनाविरुद्ध किटानी जाहेरी दिएका छन्।
डिभिजन वन कार्यालय सुर्खेतका सहायक वन अधिकृत कृष्णराम धिताल, फरेस्टर सन्तोष खत्री, वन रक्षकहरू पिउसराज तिवारी र सुरेन्द्र रानाविरुद्ध किटानी जाहेरी परेको हो।
किटानी परेकामध्ये सहायक वन अधिकृत धितालबाहेक अरू सबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ। परिवारले मृतकको शव पनि बुझेका छैनन्।
डिभिजन वन कार्यालयका अनुसार मदन भण्डारी राजमार्गमा पर्ने जङ्गलमा नम्बरिङ गरिएको रूख काटेको आरोपमा उनलाई पक्राउ गरिएको थियो। सुरूमा लामिछानेकी श्रीमतीलाई पक्राउ गरी वन कार्यालय लगिएको थियो भने पछि धनीरामलाई पक्राउ गरिएको थियो।
‘आफन्तलाई सोधपुछका लागि ल्याएर स्थानीय जनप्रतिनिधि र आफन्तको जिम्मा जमानी लगाएर छोड्ने कुरा थियो, पछि आरोपित मानिस पनि घरमा भएको सूचना आएपछि कर्मचारीहरूले उहाँलाई पक्राउ गरी ल्याएका हुन्,’ वीरेन्द्रनगर डिभिजन वन कार्यालयका प्रमुख मुनबहादुर रावतले भने।
कार्यालयको हिरासतमा लामिछाने झुन्डिएको अवस्थामा फेला परेको उनले बताए।
आफन्तले भने पक्राउ गर्दा कुटपिटबाट मृत्यु भएपछि कर्मचारीले कोठामा झुन्ड्याएर राखेको आरोप लगाएका छन्।