दाङ । दाङमा स्थानीय तहको निर्वाचन सकिएको तीन महिना बित्दा पनि धेरै उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छैनन् ।
निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको मितिले ३० दिनभित्र उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाउनु पर्ने कानुनी व्यवस्था छ । तर, उक्त व्यवस्थाको उल्लङ्घन गर्दै राजनीतिक पार्टीबाट र स्वतन्त्र रूपमा उम्मेदवारी दिएका आधाभन्दा बढीले निर्वाचन खर्च विवरण नबुझाएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
दाङमा गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसँगै वडा सदस्य गरी कुल २२ सय ७ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये ५०४ जनाले मात्र निर्वाचन खर्च विवरण बुझाएको आयोगका सूचना अधिकारी गेहेन्द्र कँवरले जानकारी दिए ।
सूचना अधिकारी कँवरका अनुसार निर्वाचन भएको तीन महिना बित्दासमेत अझै १७ सय ३ जनाले खर्च विवरण बुझाएका छैनन् ।