काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल इजरायलबीचको लामो समयदेखिको सम्बन्ध अझ सुमधुर हुँदै जाने बताएका छन् ।
दुई देशबीच दौत्यसम्बन्ध कायम भएको ६२औँ वर्षगाँठका अवसरमा नेपालस्थित इजरायली राजदूतावास र बिपी सङ्ग्रहालय समितिले आज सुन्दरीजलमा आयोजना गरेको कार्यक्रममा उनले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको कार्यकालमा सम्बन्ध स्थापना भएको बताए ।
तत्कालीन समयमा इजरायलसँग सम्बन्ध गाँस्नु चुनौतीको काम भए पनि बिपी कोइरालाले त्यसलाई सुझबुझका साथ पूरा गरेका मन्त्री कार्कीले बताए । ‘अहिले पनि नेपाली विद्यार्थी र युवाको आकर्षणको केन्द्रका रूपमा इजरायल एक गन्तव्य बनेको छ, इजरायलले कृषिमा गरेको उन्नति नेपाली युवाका लागि पनि सिक्न लायक छ, त्यहाँको प्रविधिबाट हामीले पनि कृषि क्षेत्रमा काम गर्न सक्छौँ’, उनले भने ।
कार्यक्रममा पूर्वमन्त्री डा प्रकाशशरण महतले इजरायलको स्वतन्त्रता, सार्वभौसत्ता र सुरक्षामा नेपालले विगतदेखि नै साथ दिँदै आएको उल्लेख गर्दै अब पनि सँगै रहने प्रतिबद्धता जनाए । कार्यक्रममा पूर्वमन्त्री प्रदीप ज्ञवालीले नेपाल इजरायलबीच ६० वर्षभन्दा पुरानो सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
पूर्वमन्त्री हिसिला यमीले इजरायलसँग दौत्यसम्बन्ध कायम गर्न प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको भूमिका महत्वपूर्ण रहेको बताए । आकारमा नेपालको बागमती प्रदेशजत्रो भए पनि इजरायलले धेरै क्षेत्रमा प्रगति गरेकाले नेपालले त्यसको अनुसरण गर्नुपर्ने उनको भनाइ थियो ।
नेपालका लागि इजरायली राजदूत हनान गोडरले इजरायलकै विषयवस्तुमा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीले हिटलर र यहुदी उपन्यास लेखेको कार्यक्रममा सुनाए । दुई देशका बीचको सम्बन्ध अझै सुदृढ बनाउने उनको प्रतिबद्धता थियो ।
इजरायलका लागि पूर्वनेपाली राजदूत डा अञ्जान शाक्यले बिपी नेपालका एक आदर्श व्यक्तित्व भएकैले विश्वजगत्ले फरक दृष्टि राखे पनि नेपालका तर्फबाट इजरायलको स्वतन्त्र अस्तित्व स्वीकार गर्दै कूटनीतिक सम्बन्ध स्थापना गरेको बताए ।
नेपाल इजराजयलबीच सन् १९६० जुन १ तारिखका दिन दौत्य सम्बन्ध स्थापना भएको थियो । सो अवसरमा सङ्ग्रहालय समितिका अध्यक्ष पर्शुराम पोखरेलले बिपीले इजरायलसँग सम्बन्ध स्थापना गरेकै कारण पनि आठ वर्षभन्दा लामो समय सुन्दरीजल बन्दीगृहमा बिताउनु परेको बताए ।
त्यो सम्बन्धका बारेमा तत्कालीन भारतीय नेताहरुले पनि असहमति जनाएको उनको भनाइ थियो । विभिन्न समयमा दुई देशका बीच सहयोग आदानप्रदान हुँदै आएकामा कोरोनाको दोस्रो लहरका बेला इजरायलले नेपाललाई उल्लेख्यमात्रामा स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।