काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि बारम्बार आक्रमणको प्रयास भएको बताएका छन् ।
लुम्बिनी प्रदेशका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिँदै उनले अहिले पनि माओवादीलाई बदनाम गर्ने र नेतृत्वमाथि आक्रमण गर्ने षड्यन्त्र भइरहेको बताएका हुन् ।
पहिलो संविधानसभाको निर्वाचनमा आफूलाई सिराहामा भौतिक आक्रमण गर्न खोजिएको उनको भनाइ छ । उनले आफूलाई मार्ने योजना बनाएर आक्रमण गर्न खोजिए पनि जनमुक्ति सेनाका कमान्डरले बचाएको बताए ।
उनले भने, ‘नेतृत्वको बदनाम गर्ने, आवश्यक पर्यो भने भौतिक रूपमा आक्रमण गर्ने रणनीति अहिले पनि कायम छ । पहिलो संविधानसभाको निर्वाचनमा मलाई जनमुक्ति सेनाका कमान्डरहरूले बचाएका हुन् । नत्र भने सिराहामा मारिने थिए ।’ त्यो रणनीति पनि पछि सार्वजनिक भएको उनको भनाइ छ ।
यस्तै अध्यक्ष प्रचण्डले पार्टीमाथि पनि बारम्बार आक्रमण भइरहेको बताए । उनले भने, ‘माओवादी पार्टीलाई पटक पटक छिनो–छिनो हुने गरी आक्रमण गरियो । यो अहिले पनि जारी छ ।
माओवादीमाथि भए–नभएका कुरा गरेर आक्रमण गरिने गरेको प्रचण्डको गुनासो छ ।