काठमाडौं । विभिन्न ३४ वटा राजनीति दलहरूले शुक्रवार अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध प्रदर्शन गर्ने भएका छन् । एमसीसीका विषयमा शुक्रवार बस्ने प्रतिनिधिसभा बैठकले छलफलपछि अनुमोदन गर्ने तयारी गरेपछि ती दलहरूले विरोधका कार्यक्रम राखेका हुन् ।
दलहरूले अधिकांश विरोध कार्यक्रम काठमाडौँको माइतीघरदेखि कोटेश्वरसम्म राखेका छन् । ठाउँको अभाव हुँदा एउटै स्थानमा पार्टीका कार्यक्रमहरू जुधेका छन् । एमसीसीविरुद्ध विरोध प्रदर्शनको आयोजना गर्नेमा सत्तारुढ दलदेखि साना दलसम्म रहेका छन् । विरोध प्रदर्शन गर्नेहरूले आज बानेश्वरस्थित प्रतिनिधिसभा भवनलाई तीन तिरबाट घेर्ने तयारी गरेका छन् ।
शुक्रवार एमसीसी विरुद्ध प्रदर्शनको कार्यक्रम राख्नेमा नेकपा (माओवादी केन्द्र), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेपालका लागि नेपाली पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टी लगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चा, नेकपा (माले), एमसीसी खारेज अभियान नेपाल लगायत २२ राजनीतिक दल तथा अभियान, संयुक्त जनआन्दोलन नेपाल, नेकपा (एकीकृत समाजवादी) आबद्ध जनसङ्गठन र नेकपा (माओवादी) रहेका छन् ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले एमसीसी सम्झौता विरुद्ध विरोध प्रदर्शन गर्दैछ । नेमकिपाले कोटेश्वरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्ने जनाएको छ ।
एमसीसी सम्झौता विरुद्ध संयुक्त जनआन्दोलन नेपालले बिजुली बजार पुलमा साढे १२ बजे एमसीसी विरुद्ध विरोध प्रदर्शन गर्ने जनाएको छ । नेकपा (एकीकृत समाजवादी) आबद्ध जनसङ्गठनहरूले एमसीसी विरुद्ध कमलादीस्थित प्रज्ञा भवन डबलीमा खबरदारी सभा गर्ने घोषणा गरेका छन् ।
नेकपा (माओवादी) ले शुक्रवार देशभर एमसीसीको विरोधमा मसाल जुलुस तथा पुत्ला दहन गर्ने जनाएको छ ।