काठमाडौँ । नेपालगन्जस्थित नेपाल–भारत सीमा जमुनाहनाका आज (शुक्रवार) साँझदेखि पूर्णरूपमा बन्द हुने भएको छ ।
भारतको बहराइच, श्रावस्तीलगायतका सीमावर्ती जिल्लामा यही फागुन १५ गते विधान सभाको निर्वाचन हुने भएकाले नेपालगन्जस्थित जमुनाहानाका ६० घण्टाका लागि पूर्णरूपमा बन्द गरिने बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
उनका अनुसार आज (शुक्रवार) बेलुकी ६ बजेदेखि फागुन १६ गते सोमबार बिहान ६ बजेसम्मका लागि सीमा नाका पूर्णरूपमा बन्द गरिने छ । सिमानाकामा ६० घण्टासम्म सवारीसाधन र पैदल यात्रु आवतजावतमा पूर्ण रोक लगाइने छ ।
निर्वाचन प्रयोजनका लागि रुपइडिहालगायतको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त र सुदृढ बनाउनुका साथै सिमानामा एकसाता अघिदेखि नै सुरक्षा जाँचमा समेत कडा पारिएको छ ।
आपत्कालीन सेवाबाहेक अन्य कुनै पनि सवारीसाधन र पैदल यात्रुलाई समेत आवागमनको छुट नहुने प्रहरी उपरीक्षक अधिकारीले बताए ।