काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले मिलिनियम च्यालेन्स कर्पोरेशन (एमसिसी)को नाममा गठबन्धन भत्काउने प्रयास भइरहेको बताएकी छन् ।
राष्ट्रिय जनमोर्चा बागमती प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले विपक्षी दलका केही नेताहरु गठबन्धन भत्काउन लागि परेको बताएकी हुन् ।
‘विपक्षी दलका केही नेताहरु सत्तारुढ दलका नेताहरुलाई बारम्बार भेटेर एमसिसी पारित गर्ने र गठबन्धन भत्काउने प्रयास गर्दैछन्, यसमा गठबन्धन सचेत हुनु जरुरी छ’, उनले भनिन् ।
दुई÷दुई पटक संसद् विघटन गरेको एमालेले पाँच दलीय गठबन्धन भत्काएर संसद् विघटनको औचित्य सावित गर्न खोजेको उनको भनाइ छ । उनले एमसिसीका बारेमा यथार्थ कुरा जनतामाझ लैजानुपर्ने बताइन् ।
सम्मेलनले लालबहादुर थापाको अध्यक्षतामा २१ सदस्यीय प्रदेश समिति गठन गरेको छ । सम्मेलनले सात सदस्यीय सल्लाहकार समिति गठन गरेको जनमोर्चाका नेता रोशन दानीले जानकारी दिए ।