म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा हिजो भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
पर्वतको मिलनचोकबाट दग्नाममा निर्माणाधीन अपर राहुघाट जलविद्युत् आयोजनाका लागि निर्माण सामग्री लिएर जाँदै गरेको ग१त ६०४४ नंको ट्याक्टर पानाकोट भन्ने ठाउँमा दुर्घटना भएको हो ।
ट्याक्टरको ढालाले च्यापिएर रोल्पाको सुनछहरी गाउँपालिका–३ का १८ वर्षीय नरजित घर्तिमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिए ।
सडकबाट १४ फिट तल खसेको ट्याक्टरले च्यापिएर सख्त घाइते भएका घर्तिमगरलाई उपचारका लागि बेनी अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतक घर्तिमगर ट्याक्टरको सहचालक भएको प्रहरीले जनाएको छ ।
ट्याक्टरका चालक रोल्पाको सुनछहरी गाउँपालिका–३ का जनक घर्तिमगरलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतकको शवपरीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ ।