काठमाडौँ । सरकारले सन् २०२० लाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको थियो । सोही अनुसार यसको प्रचारप्रसार पनि गरियो । विभिन्न ठाउँमा होडिङ बोर्ड राख्नेदेखि अन्तर्राष्ट्रिय स्तरमा पनि यसको प्रचारप्रसार गरियो ।
सन् २०२० लाई पर्यटन वर्षका रूपमा मनाउने सरकारको घोषणापछि सरकारी वेबसाइटमा पनि यसको प्रचार सुरु भयो । तर, वर्षको शुरूवातबाटै कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि पर्यटन वर्षको कार्यक्रम स्थगित भयो ।
भिजिट नेपाल– २०२० स्थगित भएको झन्डै २ वर्ष र सन् २०२१ लागेको पनि एक वर्ष हुन लाग्दा सरकारी वेबसाइटमा अझै पनि यसको प्रचारप्रसार देख्न पाइन्छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्रसँगै निर्वाचन आयोगको वेबसाइटमा अझै पनि यसको प्रचारप्रसार गरिएको छ । देशभित्र मात्रै नभएर विदेशमा समेत पहुँच हुने वेबसाइटमा स्थगित भएको पर्यटन वर्षको प्रचारप्रसार भई रहनुले नेपालका सरकारी वेबसाइट अपडेट अवस्था र चासोलाई छर्लङ्ग पार्छ । त्यसो त श्रम मन्त्रालयको वेबसाइटमा विभागीय मन्त्रीको बारेमा पनि केही उल्लेख गरिएको छैन ।