काठमाडौँ। माधवकुमार नेपालको अध्यक्षता गठित नेकपा (एकीकृत समाजवादी) ले अन्तरिम विधान पारित गरेको छ ।
एमालेबाट विभाजित भई दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको उक्त पार्टीको चन्द्रागिरिमा बसेको बैठकले अन्तरिम विधान र घोषणापत्र अनुमोदन गरेको हो ।
उक्त पार्टीको छोटकरी नाम नेकपा (एस) राख्ने उल्लेख गरिएको विधानमा मार्क्सवाद/लेनिनवादलाई मार्ग निर्देशक सिद्धान्त मानिएको छ ।
पदाधिकारी र केन्द्रीय समितिको संरचना एमालेको भन्दा फरक बनाएको नेकपा (एस)ले पार्टीमा अध्यक्ष, वरिष्ठ नेता, सात उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र सात सचिव सहित १७ जना पदाधिकारी राख्ने जनाएको छ ।
केन्द्रीय कमिटी भने ११५ पूर्ण र ३६ वैकल्पिक सहित १५१ सदस्यीय केन्द्रीय हुने उल्लेख छ । महाधिवेशन नहुँदासम्मका लागि १५१ सदस्यीय केन्द्रीय समिति भने राष्ट्रिय परिषद्ले चुन्ने छ । जसमा ५१ सदस्यीय पोलिटब्यूरो र २१ सदस्यीय स्थायी समिति रहने छन् ।
प्रदेश, जिल्ला र स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष र सचिव रहने व्यवस्था गरिएको छ । हरेक ५ वर्षमा महाधिवेशन गरिने र त्यसले राष्ट्रिय परिषद्का सदस्यहरु चुन्ने उल्लेख छ ।
राष्ट्रिय परिषद्का सदस्यले नै केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोगका सदस्य र पदाधिकारीहरु चुन्नेछ । अर्थात् पार्टीको अध्यक्ष र पदाधिकारी पनि महाधिवेशनबाट प्रत्यक्ष नभई राष्ट्रिय परिषदबाट चुनिने छ ।