काठमाडौँ। जापान सरकारले कोभ्याक्स परियोजनामार्फत नेपाललाई दिएको एस्ट्राजेनेका खोपको बाँकी मात्रा भदौको पहिलो हप्ताभित्र नेपाल आइपुग्ने भएको छ ।
जापानले नेपाललाई १६ लाख १४ हजार ७४० लाख डोज एस्ट्राजेनेका खोप अनुदानमा उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो । त्यसमध्ये साउन २३(२४ गते दुई खेपमा ५० प्रतिशत अर्थात् ८ लाख डोज एस्ट्राजेनेका खोप नेपाल भित्रिएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले जापानले अनुदानमा दिएको एस्ट्राजेनेका खोपको बाँकी मात्रा (५० प्रतिशत) भदौ ५–७ गतेभित्र नेपाल आइसक्ने जनाएका छन्।
राज्यमन्त्री श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘जापान सरकारको अनुदानमा प्राप्त १६,१४,७४० मात्रा एस्ट्राजेनेका खोपमध्ये नेपाल ल्याउन बाँकी रहेको ५० प्रतिशत खोप भदौ ५–७ गतेभित्र काठमाडौँ ल्याइने भएको छ । यसअघि साउन २३ र २४ गते खोप प्राप्त भएको थियो । जापान सरकारले कोभ्याक्समार्फत प्रदान गरेको सहयोगका लागि हार्दिक धन्यवाद ।’