विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यसँग सरकारले माग्यो राजीनामा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यसँग सरकारले माग्यो राजीनामा


१९ श्रावण २०७८, मंगलबार


काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरेको छ । मंगलबार
(आज) प्रधानमन्त्री शेरबहादुर देउबाको उपस्थितिमा जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री पम्फा भुसालले अहिलेसम्मको कार्यसम्पादन पनि सन्तोषजनक नभएकाले पदबाट हटेर सहयोग गर्न शाक्यसँग आग्रह गरेको स्रोतले बताएको छ ।

२०७७ माघ २७ गते शाक्य नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । त्यसअघि २०७७ कात्तिक २१बाट उनले कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी पाएका थिए । उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति दिइएको थियो ।

तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिकरण हाजिर गरिरहेका उपकार्यकारीमध्येबाट लेखनाथ कोइरालालाई वरिष्ठताका आधारमा निमित्तको जिम्मेवारी दिएका थिए ।

तर, घिसिङको पुर्ननियुक्त गर्न असहमत भएका ततकालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणको बरिष्ठ अधिकारीलाई पन्छाएर कनिष्ठलाई निमित्तको जिम्मा दिएको भन्दै मन्त्री पुनसँग असन्तुष्टि व्यक्त गरेका थिए । त्यसपछि शाक्यलाई प्राधिकरणको कायममुकायम नेतृत्वमा ल्याइएको हो ।

शाक्यलाई सरकारले बढीमा चार वर्षका लागि कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो । उनले अहिलेसम्म प्राधिकरणको उपकार्यकारी निर्देशक पदबाट पनि राजीनामा नदिएको प्राधिकरण स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस