लोक सेवा आयोगका नवनियुक्त पदाधिकारीहरूले गरे पदभार ग्रहण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

लोक सेवा आयोगका नवनियुक्त पदाधिकारीहरूले गरे पदभार ग्रहण


प्रशासन विशेष ब्युरो

१० असार २०७८, बिहिबार


काठमाडौँ । लोक सेवा आयोगमा नवनियुक्त अध्यक्ष माधवप्रसाद रेग्मीलगायत पदाधिकारीहरूले पदभार ग्रहण गरेका छन् ।

संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नियुक्ति गरे लगत्तै अध्यक्ष रेग्मी र सदस्यहरू माधव बेल्बासे, बीर बहादुर राई, दिनेश सिलवाल र मञ्जु कुमारीले आयोगको केन्द्रीय कार्यालय अनामनगरमा पदभार गरेका हुन् ।

प्रतिनिधिसभा विघटन भएको र सर्वोच्च अदालतमा दायर रिटमा सुनुवाइ नभइसकेकाले वैशाख अन्तिम साता सिफारिस गरिएका लोक सेवालगायत ११ वटा संवैधानिक निकायका पदाधिकारीले स्वतः नियुक्ति पाएका हुन् ।

यसअघि गत मङ्सिरमा सिफारिस गरिएका संवैधानिक निकायका ३२ पदाधिकारीलाई प्रतिनिधिसभा नहुँदा संसदीय सुनुवाइबिनै ४५ दिनपछि स्वतः नियुक्त गरिएको थियो । परिषद्ले गत मङ्सिर ३० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलगायतमा ३८ जनाको सिफारिस गरेकामा ३२ जनाले सुनुवाइबिना नियुक्ति पाएका थिए ।

आयोगमा पदाधिकारी नियुक्तिसँगै लामो समयदेखि रोकिएको सचिव बढुवाको प्रक्रिया सुचारु हुनेछ भने अन्य परीक्षाहरू पनि नियमित हुनेछन् ।

आयोगको निश्पक्षतामाथिको जनविश्वासलाई कायमै राखेर अघि बढ्नु पर्ने चुनौती नवनियुक्त पदाधिकारीहरूमाथि छ । निजामती क्षेत्रमा लामो अनुभव बटुलेका नवनियुक्त पदाधिकारीहरूले पक्कै पनि यो जिम्मेवारी जिम्मेवार ढङ्गले पुरा गर्ने नै छन् ।

सम्बन्धित समाचार : लोक सेवालगायत ११ संवैधानिक आयोगमा २० पदाधिकारी नियुक्त हुँदै

सम्बन्धित समाचार : लोकसेवा,अख्तियार लगायतका संवैधानिक निकायमा राष्ट्रपति भण्डारीद्धारा २० पदाधिकारी नियुक्त

Tags :
प्रतिक्रिया दिनुहोस