काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बल्खुमा पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले आज बिहान ९ बजे बल्खुस्थित पहिले कार्यालय रहेकै ठाउँमा नयाँ भवन शिलान्यास गर्न लागेका हुन् ।
वि.स. २०७२ को भूकम्पका कारण बल्खुस्थित पार्टी कार्यालयको भवनमा क्षति पुगेको थियो ।
कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा आज पार्टी केन्द्रीय कार्यालयको नयाँ भवनको शिलान्यास गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले बल्खुमा पार्टी केन्द्रीय कार्यालयको भवन बनाउने निर्णय गरेको थियो ।
आजैदेखि भाडामा लिएको थापाथलीस्थित नयाँ पार्टी कार्यालय पनि सञ्चालन हुने छ । आज ११ बजे प्रधानमन्त्री ओली नयाँ पार्टी कार्यालय जाने कार्यक्रम रहेको छ ।