भन्सार अधिकृत विकविरुद्ध २ करोड भ्रष्टाचार गरेको मुद्धामा अदालतले दियो सफाइ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भन्सार अधिकृत विकविरुद्ध २ करोड भ्रष्टाचार गरेको मुद्धामा अदालतले दियो सफाइ


२७ चैत्र २०७७, शुक्रबार


काठमाडौँ । विशेष अदालतले झण्डै २ करोड भ्रष्टाचार गरेको अभियोग लागेका भैरहवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत मानप्रसाद विकलाई सफाइ दिएको छ।

न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र चन्द्रबहादुर सारुको इजलासले विकले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको स्रोत पुष्टि नहुने भन्दै सफाइ दिएको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विकसँग २ करोड बराबरको अवैध रूपमा आर्जन गरेको अकुत सम्पत्ति रहेको दाबी गर्दै २०७५ चैत ८ गते काठमाडौँ जिल्ला अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। हाल करदाता सेवा कार्यालय पाँचथरमा कर अधिकृतको रूपमा कार्यरत रहेको समयमा अख्तियारले उनीविरुद्ध विशेषमा अकुत सम्पत्ति सम्बन्धी मुद्दा दायर गरेको थियो।

सम्बन्धित समाचार : भन्सार अधिकृत मानप्रसाद विकविरुद्ध विशेष अदालतमा मुद्दा दायर

डेढ वर्ष रोल्पामा राहत शिक्षकको काम गरेका उनी २०६८ साल असोज ११ गते अधिकृतमा नियुक्त भएका थिए। अख्तियारले जाँचबुझ गरेको अवधि उनको सम्पत्ति ३ करोड १० लाख ३० हजार ७ सय २४ देखिएको र १ करोड २७ लाख ६६ हजार ९ सय ४५ रूपैयाँको मात्र स्रोत पुष्टि हुने दाबी गरेको थियो।

अख्तियारले स्रोत पुष्टि हुन नसकेको १ करोड ८२ लाख ६७ हजार ७ सय ७९ रूपैयाँको भ्रष्टाचारको रकम भएको दाबी गरेको थियो। तर, विशेषले यसमा स्रोत नखुलेको भनि अख्तियारले गरेको दाबी पुष्टि नहुने जिकीर गरिएको छ।

स्रोत नखुलेको रकम जफत गर्न र भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही गर्न माग गर्दै अख्तियारले विक र उनकी श्रीमती आइत मालीलाई प्रतिवादी बनाएको थियो। विशेषले उनीहरू दुवैलाई अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा सफाइ दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस