काठमाडौँ । चिनियाँ प्रतिनिधिमण्डलले मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेतासँग भेटवार्ता गरेको छ । गएको आइतबार नेपाल भ्रमणमा आएका चिनियाँ टोली त्यसयता उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त छन् ।
नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री कुओ येचौसहितको प्रतिनिधिमण्डलले आज भेटवार्ता गरी चीन भ्रमणको निमन्त्रणा दिएको छ ।
पूर्वप्रधानमन्त्री देउवाको निवास बूढानीलकण्ठमा भएको भेटमा उपमन्त्री कुओले आफूहरूले सन् २०२१ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको शतवार्षिकी मनाउन लागेको जनाउँदै सो कार्यक्रमका लागि निमन्त्रणा दिए ।
उपमन्त्री कुओले कांग्रेससँग आफूहरुको राम्रो सम्बन्ध रहिआएको उल्लेख गर्दै सो पार्टी सरकारमा भए पनि नभए पनि प्रशंसनीय भूमिका रहेको बताए । उनले कांग्रेसका संस्थापक एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले चीनसँगको सम्बन्ध सुधारमा गरेको योगदानको प्रशंसासमेत गरे ।
उनीहरुबीच नेपाल र चीनका द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको भेटमा सहभागी सभापति देउवाका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले जानकारी दिए
चिनियाँ टोलीले आएकै दिन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो । सोमबार सो टोलीले विभाजित नेकपाको (प्रचण्ड-नेपाल) समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग भेट गरेको हो ।
यस्तै मंगलबार नै चिनियाँ टोलीले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा सभामुख अग्नि सापकोटासँग पनि भेटवार्ता गरेको हो ।