काठमाडौँ । स्विजरल्याण्डका राष्ट्रिय प्रशिक्षक पावेल रेहोरेकले नेपालका टेवलटेनिस खेलाडीहरूका लागि ३२ लाख बराबरको सहयोग गर्ने भएका छन् । पावेलले एभिएमका टेबलटेनिस खेलाडीका लागि उक्त रकम खर्च गर्न लागेको प्रशिक्षक पुरुषोत्तम बज्राचार्यले जानकारी गराए ।
पावेलले हालै ‘विकास सहयोगका लागि स्काफहसर पुरस्कार २०२०’ जितेका हुन् । यो पुरस्कार सामाजिक तथा खेलकुदको विकासको विकासमा गरेको योगदानको मुल्याङकनको आधारमा प्रदान गरिन्छ ।
उक्त पुरस्कारबाट प्राप्त हुने २५००० स्विस फ्रान्क (३२ लाख नेपाली) नेपालमा टेबलटेनिस खेल विकासका लागि पावेलले खर्च गर्न लागेका हुन् ।
पावेलको यो एभिएम स्कुलका खेलाडीहरूका लागि चौथो पटकको सहयोग हो । पावेलको सहयोगले एभिएमका स्कुलका खेलाडीहरूको स्तरोन्नतिमा निकै नै ठुलो मद्दत मिलेको प्रशिक्षक बज्राचार्यले बताए ।
यो रकम एभिएममा टेबलटेनिस हल निर्माणमा खर्च गर्नका लागि प्रदान गर्न लागिएको हो । प्राप्त रकम हलमा सुविधा युक्त चेन्जिङ्ग रुम, ट्वाइलेट, जिम हल, ईन्जुरी रिकभरीका लागि फिटनेस ट्रेनर राख्ने, हलभित्र प्रोफेसनल लाईटिङ्ग सिस्टम, फल्स सिलिङ, कपबोर्ड तथा बाहिर प्रशिक्षणका लागि ३ वटा टेबल टेनिस बोर्डका लागि खर्च गर्न लागिएको हो ।
जसका लागि सम्पूर्ण डिजाइनहरू तयार भइसकेको र अर्को हप्ता देखि काम सुरु हुने प्रशिक्षक बज्राचार्यले बताए । यस सहयोगले एभिएमका खेलाडी मात्र नभई भविष्यमा प्रतिभावान् खेलाडी उत्पादन गर्न समेत सहयोग पुग्ने प्रशिक्षक बज्राचार्यको विश्वास रहेको छ ।
जति धेरै सुविधा खेलाडीहरूले प्राप्त गर्नेछन् त्यतीनै सफलता पाउने पावेलको भनाई रहेको छ । भविष्यमा पनि नेपाली राष्ट्रिय प्रशिक्षकहरूलाई प्रशिक्षण प्रदान गरी स्तर वृद्धि गर्ने र नेपालमा टेबल टेनिस खेलको विकास गर्ने उनको सोच रहेको छ ।
राष्ट्रिय खेलाडीहरूले पनि नपाएको सुविधाहरू पाउने भएबाट एभिएमका खेलाडी विद्यार्थीहरू निकै नै हर्षित तथा उत्साहित भएका छन् । जुन नेपाल मा टेबल टेनिस विकासका लागि निकै नै ठुलो कुरा भएको प्रशिक्षक बज्राचार्यले बताए ।
यसअघि पनि पावेलले एभिएमका टेबल टेनिस खेलाडीहरूको लागि सहयोग गर्दै आइरहेको प्रशिक्षक बज्राचार्यले बताए ।
श्रीलङ्काको भ्रमणका क्रममा पावेलको बारेमा जानकारी प्राप्त भयो त्यस पछि सामाजिक सञ्जाल मार्फत सम्पर्क गरी स्कुलका बच्चाहरूलाई प्रशिक्षण दिन अनुरोध गर्दा उनले त्यसलाई स्विकार्दै २०१७ मा नेपाल आगमन गरेको र स्कुलका खेलाडी बिद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गरेको थिए – प्रशिक्षक बज्राचार्यले बताए ।
बज्राचार्यका अनुसार प्रशिक्षणका क्रममा स्कुलका खेलाडीहरूले खाल्टाखुल्टी भएको भुईँमा साधारण प्लाइउडको टेबलमा ईट्टाको नेट बनाएर खेलेको देखेर सहयोग गर्ने ईच्छा जागी स्वदेश फर्के पश्चात् १ लाख बराबरको नेट, बल र ¥याकेटको रबर पठाई दिएका थिए । यस्तै पावेलले २०१८ मा ३ हजार डलर बराबरको ४ वटा प्रोफेसनल बोर्ड, बल र रबर प्रदान गरे । २०१९ मा ३ हजार डलर बराबरको अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा प्रयोग हुने म्याट प्रदान गरेको बज्राचार्यले जानकारी गराए ।
पावेलले नेपाल भ्रमणका समयमा राष्ट्रिय खेलाडी तथा प्रशिक्षकहरूलाई प्रशिक्षण प्रदान गर्दै आइरहेका छन् । यस पटक पनि नेपालको भ्रमण गर्ने कार्यक्रम रहेकोमा विश्व महामारीको रूपमा फैलिएको कोभिड १९ कारण उनको नेपाल भ्रमण स्थगित भएको प्रशिक्षक बज्राचार्यले बताए ।