काठमाडौँ । चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे काठमाडौँ आइपुगेका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपाल भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री फेङहेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गर्ने कार्यक्रम रहेको छ ।
रक्षामन्त्री फेङहेको एक दिवसीय नेपाल भ्रमणलाई अर्थपूर्णरूपमा हेरिएको छ।
प्रधानमन्त्री ओलीसँगको भेटमा फेङहेले नेपाली सेनालाई गर्ने सहयोगबारे पनि छलफल गर्ने बताइएको छ । प्रधानमन्त्री ओलीले अहिले रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हाल्दै आएका छन्। भेटमा नेपाल–चीनबीचको पछिल्लो सम्बन्ध, बेल्ट एन्ड रोड इनिसियटिभ, रक्षा सहायतालगायत विषयमा छलफल हुनेछ।
स्रोतका अनुसार चिनियाँ राष्ट्रपति सी जिनफिङको विशेष सन्देश लिएर नेपाल आएका रक्षामन्त्री फेङहे र प्रधानमन्त्री ओलीबीच समसामयिक राजनीति, सुरक्षा मामिलाबारे समेत छलफल हुने छ।
चिनियाँ रक्षामन्त्री फेङहे र प्रधानसेनापति थापाबीच आइतबार अपराह्न जंगी अड्डामा भेटवार्ता हुने छ। नेपाली सेनाले चिनियाँ रक्षामन्त्री फेङहेको सम्मानमा जंगी अड्डा परिसरमा गार्ड अफ अर्नर दिनेछ।
त्यसपछि चिनियाँ रक्षामन्त्रीको प्रतिनिधि मण्डल र नेपाली सेनाबीच द्विपक्षीय हित र सैन्य सहयोगबारे छलफल हुनेछ। आजै फेङ्हे स्वदेश फिर्ता हुनेछन् ।