काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साका नेता मुकेश चौरसिया हत्या प्रकरणका मुख्य अभियुक्त पक्राउ परेका छन् । पर्साको विन्ध्यवासिनी गाउँपालिका–३ ईटियाही बस्ने ३८ वर्षीय अखिलेश प्रसाद चौरसिया भन्ने अशेसर प्रसाद चौरसियालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
गत असोज ६ गते विन्दवासिनी गाउँपालिका –५ प्रसौनीमा नेकपा गाउँ कमिटीको शपथ ग्रहण कार्यक्रममा नेकपाका दुई पक्षबीच वादविवाद हुँदा ३४ वर्षीय चौरसिया गम्भीर घाइते भएका थिए ।
घाइते चौरसियालाई उपचारका लागि न्यूरो अस्पताल लगिएको थियो । चौरसियाको उपचारका क्रममा मृत्यु भएको थियो ।
उक्त घटनाका मुख्य अभियुक्त अशेसर फरार भई लुकीछिपी बस्दै आइरहेका थिए । फरार अशेसरलाई वीरगन्ज–२५ अलौ सिर्सियाबाट आइतबार नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान अघि बढाएको छ ।