विराटनगर । पछिल्लो १२ घण्टामा कोरोना भाइरस संक्रमणबाट मोरङमा पाँच जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणबाट चार जनाको उपचारको क्रममा अस्पतालमा र एक जनाको होम आइसोलेशनमा मृत्यु भएको हो । मृत्यु हुनेमा ४ जना महिला र एक पुरुष छन्।
विराटनगरको नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा मात्रै तीन जनाको मृत्यु भएको छ।
झापाको गौरादह-२ की ४९ वर्षीया महिलाको बिहिबार बिहान ८ बजेतिर मृत्यु भएको हो। रुघा, खोकी, ज्वरो, श्वासप्रश्वास र वान्ता हुने समस्या देखिएपछि महिलालाई कात्तिक ४ गते उपचारका लागि अस्पताल भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
अस्पताल भर्ना गरेपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको उनको भनाइ छ। कोरोना पुष्टि भएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएकी महिलाको तीन सातापछि मृत्यु भएको प्रबन्धक दाहालको भनाइ छ।
त्यस्तै सुनसरीको इटहरी-३ की ४० वर्षीया महिलाको पनि नोबेलमै बिहान ८:१० बजेतिर मृत्यु भएको छ। दाहालका अनुसार ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने समस्या देखिएकी महिलालाई बुधबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।
पीसीआर परीक्षण गराउँदा साँझ रिपोर्ट पोजिटिभ आएको उनको भनाइ छ।
यसैगरी मोरङको रंगेली नगरपालिका-८ का ५५ वर्षीय पुरुषको पनि बिहान ७:३० बजेतिर मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि कात्तिक १७ गते उपचारका लागि भर्ना गरिएका उनको संक्रमण देखिएको १० दिनपछि उपचारकै क्रममा मृत्यु भएको दाहालले बताए। मृतकमा ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने समस्या रहेको उनको भनाइ छ।
त्यस्तै झापाको दमक-६ की ४६ वर्षीया महिलाको बुधबार राति ८ बजेतिर मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा ज्यान गएको छ। अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवकाअनुसार श्वासप्रश्वासको समस्या देखिएपछि महिलालाई उपचारका लागि बुधबार बिहान ल्याइएको थियो।
पीसीआर परीक्षण गराउँदा दिउँसो रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ। कोरोना पुष्टि भएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको केही बेरमै महिलाको ज्यान गएको देवले बताए।
यसैबिच मोरङको उर्लाबारी- ८ की ४५ वर्षीया संक्रमित महिलाको होम आइसोलेसनमा बुधबार राति मृत्यु भएको छ। पीसीआर परीक्षण गराउँदा कात्तिक १५ गते रिपोर्ट पोजिटिभ आएपछि उनी घरमै होम आइसोलेसनमा रहेको प्रहरीले जनाएको छ।
श्वास फेर्न गाह्रो भएर स्वास्थ्यमा एक्कासि समस्या आएपनि उपचारका लागि अस्पताल लैजान नपाउँदै उनको राति १० बजेतिर मृत्यु भएको उर्लाबारी प्रहरीले जनाएको छ।