काठमाडौं । जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
भक्तपुरको चाँगुनारायण–८ सुडाल बस्ने ६१ वर्षीय चन्द्र लामा वाईवाको जग्गा हेर्ने भन्दै आएका तीनजनाको समुहले गत बुधबार (असोज २१) मा कुटपिटबाट बेहास भई भोलिपल्ट (बिहीबार) ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
निर्घात कुटेर बेहोस बनाएपछि वाईवाले हातमा लगाएको दुइतोला सुनको ब्रासलेट र दुईवटा मोवाइल र १ तोलाको सुनको सिक्री लिएर उनीहरु फरार भएका थिए । फरार उनीहरुलाई महाशाखाले ७ दिनपछि पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३७ वर्षीय कामी शेर्पा, २८ वर्षीय रमेश तामाङ र ३० वर्षीय प्रेम तामाङ छन् । हत्याको मुख्य योजनाकार कामी शेर्पा रहेको महाशाखाका प्रमुख बरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए ।