राजविराज । कोरोना भाइरस संक्रमणका कारण सप्तरीका एक जना पुरुषको बुधबार बिहान मृत्यु भएको छ। सप्तरीको राजविराज-४ घर भएका ३९ वर्षीय पुरुषको धरानस्थित वि. पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बुधबार बिहान ३ बजे मृत्यु भएको हो।
असोज ८ गते गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई प्रतिष्ठानको कोभिड अस्पतालको भेण्टिलेटरमा राखेर उपचार गराइरहेकोमा बुधबार बिहान मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।
ती पुरुषलाई विराटनगरको गोल्डेन अस्पतालले रेफर गरेको थियो । गोल्डेन अस्पताल विराटनगरमा भदौ २७ गते गरिएको परीक्षणमा कोरोना संक्रमण नेगेटिभ देखिएपछि आठ दिन उपचार गरेर घर फर्काएको थियो। घरमा एक रात राखेर पुनः उपचारका लागि धरानस्थित बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेकोमा असोज ८ गते गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मृतकका भाई पिन्टुकुमार यादवले जानकारी दिए
मधुमेह र उच्च रक्तचाप भएका पुरुषमा मिर्गौलाको समस्या पनि थियो । उनी नियमित डाइलायसिस गराउँदै आएका थिए