बुटवल । रुपन्देहीमा एक जनाको मृत्यु पछि दाहसंस्कारका लागि घाट पुर्याएलगत्तै कोरोना रिपोर्ट पोजेटिभ आएको छ । रुपन्देहीको रोहिणी ३ धकधईका नेपाल युवा किसान पार्टीका राष्ट्रिय अध्यक्ष सञ्जयकुमार मिश्रको मृत्यु पछि दाहसंस्कारका लागि घाट पुर्याएलगत्तै कोरोना पोजेटिभको खबर आएको हो ।
उनको शनिवार मधुमेह र उच्च रक्तचापको समस्या देखिएपछि उपचारका लागि भारत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । त्यसलगत्तै उनको कोरोना आशङ्कामा बुटवलको एक निजी प्रयोगशालामा परीक्षणका लागि स्वाब पठाइएको थियो । तर रिपोर्ट नआउँदै उनको आइतबार बिहान आफन्तले दाहसंस्कार गर्न लागेका थिए । दाहसंस्कारमा ४०० जना सहभागी रहेको बताइएको छ ।
दाहसंस्कारका लागि शव जलाउनै लाग्दा कोरोना पोजेटिभ भएको रिपोर्टको समाचार घाटमै पुगेपछि सबै जना डराएका छन् ।
कोरोना सङ्क्रमितको शव सुरक्षा मापदण्ड अनुसार गाड्ने भए पनि उनको शव जलाइएको छ । शव जलाइएपछि कोरोना सङ्क्रमण फैलिने भन्दै स्थानीय त्रसित भएका छन् ।
मृतकको घर भएको क्षेत्र अहिले सिल गरिएको छ ।
यस्तै साउन अन्तिममा पनि भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएकी कालिकानगरकी एक महिलाको मलामीमा पनि १ सय ५० जना जति गएका थिए । तर उनको भने परीक्षण गरिएको थिएन । उनका आफन्तलगायत मलामी गएका ४० जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।