काठमाडौँ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका स्थायी समितिका सदस्यको बालुवाटारमा बसेको बैठक सकिएको छ ।
आज दिउँसो बालुवाटारमा बसेको बैठकले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विधि विपरीत स्थायी समितिको बैठक स्थगित भएको सूचना प्रसारित गर्नु उचित नभएको निष्कर्ष निकालेको छ ।
यस विषम परिस्थितिमा पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी आगामी बैठक सुचारु गर्नका लागि अध्यक्ष प्रचण्डलाई बैठकले जिम्मेवारी दिने निर्णय गरेको छ ।
आजको बैठकले पार्टी एकताको रक्षा गर्न, पार्टीलाई विधि र पद्धतिसम्मत ढङ्गले अगाडि बढाउन र वर्तमान सङ्कटलाई सकारात्मक ढङ्गले निकास दिन योगदान पुर्याउनका निम्ति सबै पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूलाई आ–आफ्ना ठाउँबाट भूमिका खेल्न आव्हान पनि गरेको छ ।
आजको बैठकको मिति र समय यसअघि बसेको स्थायी समिति बैठकले नै निर्णय गरेको थियो । बैठकमा २९ जना स्थायी समिति सदस्यहरू र २ जना आमन्त्रित सदस्यहरूको उपस्थिति रहेको थियो ।