काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा नेकपाका नेताहरुबीच छलफल भइरहेको छ ।
शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा सचिवालय बैठकमा मङ्सिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव अध्यक्ष प्रचण्डले सहमति जनाएका थिए । तर महाधिवेशन मङ्सिरमा गर्न नसकिने भन्दै तीन नेताले ओलीको प्रस्ताव अस्वीकार गरेका थिए ।
प्रधानमन्त्रीको प्रस्तावमा सहमति जनाएको भन्दै आफ्नै गुटका नेताहरूले आलोचना गर्न थालेपछि अध्यक्ष प्रचण्डले त्यसबारे प्रष्ट पार्न नेताहरूलाई बोलाएर छलफल राखेका हुन् । छलफलमा वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल र प्रवक्ता नारायण काजी श्रेष्ठ सहभागी छन् । छलफलमा नियमित रूपमा खुमलटार बैठकमा उपस्थित हुने सचिवालय सदस्य रामबहादुर थापा भने सहभागी नभएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार महासचिव विष्णु पौडेल र उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष प्रचण्डलाई एक्ला एक्लै भेट गरेका छन् ।
आजै अपराह्न ३ बजे नेकपा स्थायी समिति बैठक पनि बोलाइएको छ ।