काठमाडौँ । सिन्को नभाँची बिल मिलाएर खानेहरूको कमी छैन यहाँ । सरकारी सम्पत्ति भनेपछि झन् जति हसुरे पनि नअघाउने असुरे प्रवृत्तिका मान्छे कति कति !
त्यसैमाथि मौका मात्रै मिलोस् जतिसुकै मै हुँ भन्ने र कहलिएका आदर्शवानहरू पनि चौका हान्न च्याँखे थापेर बसेका हुन्छन् ।
पछिल्लो समय विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका क्रममा जताततै भ्रष्टाचार भयो भनिरहँदा बाँकेमा भने एक जना यस्ता व्यक्ति फेला परेका छन् जसले आफ्नो खातामा आएको पारिश्रमिकसमेत फिर्ता गरेका छन् ।
नरैनापुर क्वारेन्टिन व्यवस्थापन मूल समितिका सदस्य शिवचरण यादवले पारिश्रमिकतवाफत भन्दै नरैनापुर गाउँपालिका, गाउँपालिकाको कार्यालय, बाँकेले सनराइज बैङ्कमा रहेको खातामा जम्मा गरिदिएको ४८ हजार रुपैयाँ विपद् व्यवस्थापन कोषमा नै फिर्ता गर्न चाहेको बताएका हुन् ।
‘मैले विपद् व्यवस्थापन समितिमा निस्वार्थ भावले खटिँदा पनि नरैनापुर गाउँपालिकाले मेरो व्यक्तिगत सनराइज बैङ्क शाखा नरैनापुरमा रहेको खातामा मलाई कुनै जानकारी नदिई पारिश्रमिक बापतको रकम ४८ हजार दाखिला गरेको म्यासेज मेरो मोबाइलमा आएपछि मेरो ध्यानाकर्षण भएको छ’, उनले नगरपालिकाको कार्यालयलाई सम्बोधन गरी लेखेको पत्रमा भनेका छन्, ‘सो रकम मैलै आफ्नो स्वेच्छाले यस्तो विपद्का बेला पारिश्रमिक नलिई नरैनापुर गाउँपालिकाको विदप व्यवस्थापन कोषमा रकम फिर्ता गर्न चाहेको ब्यहोरा जानकारीका लागि अनुरोध छ’
उनले लेखेको पत्र अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सबैले उनको तारिफ गरेका छन् ।
हेर्नुस् पत्र