काठमाडौं । सरकारले बाढीपहिरोमा परेकाहरूलाई तत्काल राहत, उद्धार र पुनर्स्थापनाका लागि व्यवस्था मिलाउने भएको छ ।
शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले अहिले बाढीपहिरोबाट प्रभावित भएका देशका आठ जिल्लामा तत्काल राहत, उद्धार र पुर्नस्थापनाका काम गर्ने निर्णय गरेको हो। उक्त निर्णय प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, मन्त्रीहरू तथा सुरक्षा निकायबीचको बैठकले गरेको हो। बाढीपहिरोपीडितलाई उद्धार गरी सार्वजनिक भवन, विद्यालयहरूमा राख्न सकिने पनि बैठकमा छलफल भएको छ।
राष्ट्रिय विपद जोखिम न्यूनफकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार बाढीपहिरो पीडितलाई तत्काल उद्धार, राहत र पुनर्स्थापनाका विषयमा सरोकारवालाहरुसँग छलफल भएको छ ।
प्राकृतिक विपदबाट पीडितहरुलाई तत्काल उद्धार गरी विद्यालय भवन वा सार्वजनिक भवनहरुमा पुनर्स्थापना गर्ने विषयमा छलफल भएको छ।
गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्यांक अनुसार शुक्रबार बाढी र पहिरोबाट ८ जिल्ला प्रभावित भएका थिए। बाढी र पहिरोमा परेर २३ जनाको मृत्यु, ३६ जना बेपत्ता र २६ जना घाइते थिए।