काठमाडौँ । खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजन इन्जिनियर राजकुमार शाक्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनले १० करोड ७७ लाख ५० हजार ४ सय ५३ रुपैयाँ अवैध आर्जन गरेको अख्तियारको आरोप छ ।
२०४९ जेठ २ गते जिल्ला खानेपानी कार्यालय कञ्चनपुरमा ओभरसियर पदमा सरकारी सेवा प्रवेश गरेका उनले २०७६ फागुन मसान्तसम्म १२ करोड ३९ लाख २४ हजार १४ रुपैयाँ आम्दानी गरेको अख्तियारले जनाएको छ । यस अवधिमा उनको वैध आम्दानी १ करोड ६१ लाख ७३ हजार ५ सय ६१ रुपैयाँ मात्र हुने अख्तियारको दाबी छ ।
शाक्यले आफू र श्रीमतीको नाममा जग्गा खरिद, घर निर्माण र सवारी साधन खरिद गर्नुका साथै भान्जी नाता पर्ने व्यक्तिको नाममा समेत जग्गा किनेर लुकाएको पाइएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले बताए ।
उनले आफू र परिवारका सदस्यको नाममा मुद्धति खातामा रकम जम्मा पारेको र मुद्धति निक्षेप परिपक्व नहुँदै त्यसलाई धितो राखेर ऋण लिएको पाइएको अख्तियारले जनाएको छ ।
शाक्यविरुद्ध संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना दिक्तेल, खोटाङको आयोजना प्रमुख हुँदा कमिसन नलिई काम नगर्ने, आ।व।०७५र०७६ मा करिब एक करोड कमिसन असुल गरेको, २०७६ आसारमा विभिन्न ठेकेदारसँग करिब पचास लाख खातामा राख्न लगाई बिल भुक्तानी गरेको भनी उजुरी परेको थियो ।
२०४९ सालमा ओभरसियरबाट सरकारी सेवा प्रवेश गरेका उनी २०६४ माघ १ गते इन्जिनियर र २०७२ कात्तिक १० गते सिनियर डिभिजन इन्जिनियर भएका थिए ।
शाक्यले ललितपुर उपमहानगरपालिका वडा नं। १३ को ४ आना जग्गा आयोगमा संक्षिप्त सम्पत्ति विवरण फारम बुझाएकै दिन २०७६ माघ १२ मा पत्नी अल्का शाक्यको नामबाट भान्जी प्रभा शाक्यको नाममा परिवर्तन गरेर सम्पत्ति लुकाउन खोजेको पनि अख्तियारले बताएको छ ।
शाक्यविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९२० र दफा १६ को उपदफा ९२० बमोजिम समेतको सजाय गरी गैर कानुनी आर्जन गरेको १० करोड ७७ लाख ५० हजार ४ सय ५३ रुपैयाँ बिगो असुल गर्न अख्तियारले माग गरेको छ ।