राँझा । कोरोना भाइरस रोकथाम गर्न बाँकेमा स्थानीय सरकार योजनाबद्ध तरिकाले क्रियाशील भएका छन् । जिल्लाका आठवटै स्थानीय तहले सङ्क्रमण फैलिन नदिन लकडाउनमा पनि आकस्मिक बैठक बसी आवश्यक पूर्वतयारी र सतर्कता अपनाएका छन् । हेल्थ डेस्क निर्माण, मास्क, साबुन वितरण र सचेतना जगाउन गाउँ–गाउँमा पुगेर स्थानीय तहले सरकारको अनुभूति दिलाएका छन् ।
कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले शङ्कास्पद बिरामी फेला परे वा अन्य देशबाट आएका मानिसलाई राख्नका लागि क्वारेन्टाइन निर्माण गरिएको जानकारी दिए । नगरपालिका–८ पिपरीमा रहेको कृषि विकास बैंकको तालिम केन्द्रलाई क्वारेन्टाइनका रूपमा प्रयोगमा ल्याइएको उनले बताए ।
जनतालाई रोगबारे सचेत गराउन पम्पलेट वितरण र फल्याक्स बोर्ड निर्माण गरी विभिन्न सार्वजनिक स्थानमा टाँस गरी नगरपालिकाले इलाका प्रहरी कार्यालय कोहलपुरसँगको साझेदारीमा नगरक्षेत्रभित्र माइकिङ गर्नुका साथै आम समुदायलाई घरमै सेल्फ क्वारेन्टाइनमा रहन टोलटोलमा पुगेर अपिल गरिएको नगरप्रमुख रावतले जानकारी दिए ।
जानकी गाउँपालिकाले शुक्रबारमात्र आकस्मिक बैठक बसी २५ श्ययाको क्वारेन्टाइन बनाउने निर्णय गरेको अध्यक्ष रामनिवास यादवले बताए । तुरुन्त क्वारेन्टाइन निर्माण गरी गाउँपालिकामा विदेशबाट आएका र कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएका बिरामीको निगरानी गर्न जनप्रतिनिधि खटिएको उनको भनाइ छ ।
उनले सरकारले आह्वान गरेको लकडाउनको गाउँपालिकावासी सबैले पालना गरी कोरोना भाइरसबाट बच्न र अरुलाई पनि बचाउन सबैले सहयोग गर्नुपर्ने बताउँदै वडास्तरमा पनि लकडाउन कार्यान्वयन गराउन वडाध्यक्षलाई आग्रह गरिएको जानकारी दिए । बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले सचेतना अपनाउन माइकिङ गर्नुका साथै भारत तथा तेस्रो मुलुकबाट आएकाहरुको अभिलेखीकरण गर्ने र तिनीहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको बताए । उनले हरेक वडामा विद्यालयलाई क्वारेन्टाइनका रूपमा विकास गरी वडाध्यक्षसहितका जनप्रतिनिधिलाई तयारी हालतमा रहन निर्देशन दिइएको बताए।
अध्यक्ष रुचालले बैजनाथ प्राथमिक स्वाथ्य केन्द्रमा १६ श्ययाको आइसोलेसन कक्ष निर्माण गरिनुका साथै गाउँपालिकाअन्तर्गतका स्वाथ्य केन्द्रमा आवश्यक स्वाथ्य सामग्रीको व्यवस्था गरिएको जानकारी दिए। राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले गाउँपालिकाले होम क्वारेन्टाइमा जोड दिँदै भारतबाट आएका र अन्य शङ्कास्पद बिरामीलाई निगरानीमा राखिएको जानकारी दिए । सचेतनामा विशेष जोड दिँदै गाउँपालिकावासीलाई घरभित्र बस्न र रोकथामका उपाय अवलम्बन गर्न आग्रह गरिएको अध्यक्ष थारूको भनाइ छ ।
खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतीले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि तत्काल रु २० लाख छुट्याएर काम अगाडि वढाएको बताए । उनका अनुसार खजुरा गाउँपालिका–१ राधापुरस्थित मैटहवा माविमा २० श्ययाको क्वारेन्टाइन स्थापना गरिएको छ । जसमा हाल चार जनालाई राखिएको छ । भारत तथा अन्य देशवाट आएका र शङ्कास्पदलाई क्वारेनटाइमा राखिएको हो । अध्यक्ष कक्षपतीले भारत तथा तेस्रो देशबाट आएकाको विवरण सङ्कलन शुरु गरिनुका साथै गाउँपालिकाका सबै वडामा सचेतनामूलक सन्देशसहित माइकिङसमेत गरिएको बताए।
नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले नेपालगञ्जमा आवश्यक क्वारेन्टाइन, ४० श्ययाको छुट्टै आइसोलेसन अस्पताल तयार गर्नुका साथै भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा आवश्यक तयारी गरिएको बताए। उनले आवश्यकतानुसार उपमहानगरपालिकाका सबै वडामा रहेका स्वास्थ्य केन्द्र र स्वास्थ्य जाँचकक्षमा स्वास्थ्यकर्मी परिचालन भइरहेको जानकारी दिए। उनका अनुसार क्वारेन्टाइमा हाल भारत तथा तेस्रो मुलुकबाट आएका आठ जनालाई निगरानीमा राखिएको छ ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले भारतसँग जोडिएको सीमानाका पूर्णरूपमा बन्द गरेर सबैजसो वडामा हेल्थ डेक्स स्थापना गरिएको जानकारी दिए । उनका अनुसार नरैनापुर–४ को नेराप्रावि खोदवामा १० श्ययाको क्वारेन्टाइन स्थपना गरिएको छ भने होम क्वारेन्टाइनमा बस्न र सचेतना अपनाउन अपिल गर्दै माइकिङ गरिएको छ । डुडुवा गाउँपालिकाले बेतहनी स्वाथ्य केन्द्रमा क्वारेन्टाइन बनाई सचेतना कार्यक्रममा जोड दिइएको अध्यक्ष नरेन्द्र चौधरीले जानकारी दिए