काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट इरानमा विगत २४ घण्टाको अवधिमा ५४ जनाको मृत्यु भएको छ।
इरानमा एकै दिन कोरोनाको सङ्क्रमणबाट यतिठूलो सङ्ख्यामा मानिसको मृत्यु भएको पहिलो घटना भएको इरानी अधिकारीहरूले बताएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपोरका अनुसार पछिल्लो मृत्युसँगै इरानमा कोरोना सङ्क्रमित भई मर्नेहरूको सङ्ख्या २९१ जना पुगेको छ ।
उनले कोरोना सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या निरन्तर बढेको बताउँदै पछिल्लो पटक ८८१ जनामा कोरोना भएको पुष्टि भएको जानकारी दिएका छन्।
इरानमा सङ्क्रमित व्यक्तिको कूल सङ्ख्या ८ हजार ४२ पुगेको छ। यसबिच दुई हजार ७३१ जना भने निको भएर घर फर्केको जोहानपोरले बताए।
कोरोनाको सङ्क्रमणको सबैभन्दा धेरै प्रभाव राजधानी तेहरानमा परेको छ जहाँ दुई हजार ११४ जना सङ्क्रमित भएका छन्।
क्यास्पियन सागरसँग सीमा जोडिएको लोकप्रिय पर्यटकीय क्षेत्र मजान्दारान प्रान्तमा ८८६ जना तथा क्वोममा ७५१ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ।