ललितपुर । बढी मूल्यका मास्क बिक्री गर्ने दुई जना फार्मेसी सञ्चालक पक्राउ परेका छन् ।
लगनखेलको टाइम मेडिकेयर फार्मेसीका सञ्चालक मणिराज सञ्जेल र जीपीपी म्यानकाइन्ड फार्मेसीका सञ्चालक पारसमणि बराललाई अनुगमन टोलीले शुक्रबार नियन्त्रणमा लिएको हो ।
परिचय लुकाएर गएका ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, जिल्ला बजार अनुगमन समितिका प्रतिनिधि र सुरक्षाकर्मीको टोलीलाई सञ्चालक सञ्जेलले सामान्य मास्कको एक सय रूपैयाँ लाग्ने बताएका थिए ।
उनले बयानमा आफूसँग खरिद बिल नभएको र महेश्वर श्रेष्ठबाट लिएको स्वीकारे । अर्का सञ्चालक बरालले २० रूपैयाँ पर्ने मास्क ५० रूपैयाँमा बिक्री गरेको टोलीले फेला पारेको थियो । दुई वटै फार्मेसीबाट २८ थान मास्क बरामद गरेको थियो ।
फार्मेसी सञ्चालकले कालोबजारी गर्न थालेपछि वाणिज्य विभागबाट पनि अनुगमन थालिएको छ ।