काठमाडौं । भारतले ब्रिटेनकी एक महिला सांसदलाई नयाँदिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा रोकेको छ । लेबर पार्टीकी सांसद डेबी अब्राहम्सको भिसा रद्द गरिएको भन्दै दिल्ली विमानस्थलमा रोकिएको हो ।
भारतले संविधानको अनुच्छेद ३७० हटाएर कश्मीरको विशेष प्रान्तको दर्जा खोसेपछि सांसद अब्राहम्सले भारत सरकारको आलोचना गर्दै आएकी थिइन् । अब्राहम्स कश्मीरबारे ब्रिटेनको संसदीय समितिको अध्यक्षसमेत हुन् । उनले दिल्ली विमानस्थलका अधिकारीहरुले भिसा किन रद्द गरियो भन्ने जानकारीसमेत नदिएको बताएकी छन् ।
अब्राहम्स निजी भ्रमणका लागि भारतमा आएकी थिइन् । उनी इमिरेट्स फ्लाइट्सबाट सोमबार दिल्ली विमानस्थलमा ओर्लिएकी थिइन् । लगत्तै अधिकारीहरुले उनको भिसा रद्द गरिएको भन्दै भारत प्रवेशमा रोक लगाएको बीबीसीले जनाएको छ ।
भारतीय अधिकारीहरुले आफूलाई अपराधीलाई जस्तै व्यवहार गरेको भन्दै उनले परिवारका सदस्य र साथीहरुसँग भेट्न दिने विश्वास व्यक्त गरेकी छन् ।
उनले भनेकी छन्, ‘एक अधिकारीले मेरो पासपोर्ट लिए र करिब १० मिनेटसम्म गायब भए । उनी आएपछि अभ्रद रुपमा प्रस्तुत भए र झोक्किँदै मसँग हिँड्न भने ।’
त्यसपछि उनलाई भारतीय अधिकारीहरुले डिपोर्ट सेलमा लगेर राखेका थिए ।
उनले भनिन्, ‘धेरै अधिकारीहरु म भएको ठाउँमा आए । मैले मेरो भिसा किन रद्द गरियो भनेर सोधें र मैले अनअराइभल भिसा पाउन सक्छु रु भनेर पनि सोधें, तर उनीहरुले कुनै जवाफ दिएनन् ।’
गत वर्ष अगष्ट महिनामा डेबी अब्राहमले तत्कालीन ब्रिटेनकी विदेशमन्त्रीलाई पत्र लेखेर भारतले कश्मीरको विशेष दर्जा खोसेकोमा असन्तुष्टि व्यक्त गरेकी थिइन् । पत्रमा ब्रिटेनको संसदीय दल चिन्तित रहेको र भारत सरकारले कश्मीरका जनतासँग विश्वासघात गरेको उल्लेख थियो । एजेन्सी