काठमाडौं । आफूसँगै आएका साथीलाई हत्या गरेको अभियोगमा एक बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार ढाकाका ४५ वर्षीय मुहाउद्दिन अहमद परवेजलाई हत्या गरेको अभियोगमा उनकै साथी ४४ वर्षीय दुला मिया पक्राउ परेका हुन्।
सोल्टीमोडस्थित होटल ग्राण्ड भिल्लाको ११४ नम्बर कोठामा बसेका दुबैबीच विवाद भएपछि परवेजलाई दुलाले टाउकोमा ह्वीस्कीको बोतल प्रहार गरी हत्या गरेको थाहा भएको छ।
माघ ६ गते बंगलादेशबाट दुबै जना हिमालयन एयरलाइन्सबाट काठमाडौं आएका थिए। ७ गते दुबै बाहिर गएर पुनस् कोठामै फर्के।
त्यही दिन बेलुका दुला बाहिर निस्केपछि फर्केनन्। कर्मचारीलले भोलिपल्ट कोठामा गएर हेर्दा परवेज मृत भेटिएका थिए।
प्रहरीका अनुसार ह्विस्कीको बोतलले तीन पटक टाउकोमा प्रहार गरेर दुलाले साथीको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
लेबनान पठाउन भनी परवेजसँग उनले पैसा लिएको देखिएको छ। दुलाले बंगलादेशबाट पठाउन नसकेपछि काठमाडौं ल्याएका थिए।
काठमाडौं ल्याए भिसा नलागेपछि दुबैबीच विवाद भएको देखिएको प्रहरीले जनाएको छ। यही विवादका क्रममा ह्विस्कीको बोतलले हिर्काएर हत्या गरेको प्रारम्भिक अनुसन्धान प्रहरीको छ।