सङ्घीय निजामती ऐनमा कर्मचारीको चासो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सङ्घीय निजामती ऐनमा कर्मचारीको चासो


२८ पुस २०७६, सोमबार


करिब नौ महिनादेखि संसद्को राज्य व्यवस्था समितिमा छलफलकै क्रममा रहेको सङ्घीय निजामती सेवा ऐन यति बेला विरबलको खिचडी जस्तै बन्न पुगेको छ । लामो समय भइसक्दा पनि विधेयकले पूर्णता नपाउँदा प्रदेशलगायतमा कानुनी वाधा उत्पन्न परिरहेको छ । जसले सेवा प्रवाहमा प्रत्यक्ष असर पार्ने मात्र होइन कर्मचारीतन्त्रलाई अन्यौलतातर्फ लगेको छ ।

एकातिर ऐन बन्न ढिलाइ हुनु र अर्कोतर्फ कर्मचारीको वृति वृतिविकासमा असर पर्ने खालका प्रावधानहरू प्रस्तावित ऐनमा राखिन खोज्नुले कर्मचारी वृतमा असन्तुष्टि जन्मेको छ । त्यसबारे कर्मचारीले खुलेरै विरोध गर्न थालेका छन् । प्रस्तावित विधेयकमा उठाइएको आधा दर्जन बढी विषयको अझै टुङ्गो लागेको छैन । त्यसमध्ये पदपूर्ति तथा बढुवासम्बन्धी व्यवस्थामा कर्मचारीको मुख्य चासो रहेको देखिन्छ ।

सार्वजनिक प्रशासन सञ्चालन, विकास व्यवस्थापन र सेवा प्रवाहलाई चुस्त दुरुस्त, प्रभावकारी र नतिजामुखी बनाउँदै प्रशासनिक संरचनालाई सङ्घीय स्वरूपबमोजिम रूपान्तरण गर्नुपर्ने अहिलेको आवश्यकता हो । समग्र सरकारी सेवाको मियोको रूपमा रहेको सङ्घीय निजामती सेवालाई प्रतिस्पर्धी, जनमुखी, उत्तरदायी, उत्प्रेरित र सेवामूलक बनाउन प्रस्तावित सङ्घीय निजामती सेवा ऐनमा निम्न विषयहरू समेट्नुपर्ने देखिन्छ ।

पदपूर्ति तथा बढुवा सम्बन्धी विद्यमान व्यवस्थालाई हेर्दा नेपाल निजामती सेवा ऐन २०४९ मा शाखा अधिकृतमा ७० प्रतिशत खुला र ३० प्रतिशत कार्यसम्पादन तथा ज्येष्ठताको मूल्याङ्कन, राजपत्राङ्कित द्वितीय श्रेणी (उप-सचिव) तथा राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव) मा ७० प्रतिशत बढुवा, २० प्रतिशत आन्तरिक प्रतियोगिता र १० प्रतिशत खुल्ला प्रतियोगिता रहने व्यवस्था छ ।

प्रस्तावित विधेयकमा भएको व्यवस्थामा हाल प्रस्तावित विधेयकमा शाखा अधिकृतमा ७० प्रतिशत खुला, २० प्रतिशत कार्यसम्पादन मूल्याङ्कन र १० प्रतिशत अन्तर तह प्रतिस्पर्धा, उप-सचिव तथा सह सचिवमा १० प्रतिशत खुला, ७० प्रतिशत कार्यसम्पादन मूल्याङ्कन र २० प्रतिशत अन्तरतह प्रतिस्पर्धाको व्यवस्था राखिएको छ ।

प्रस्तावित विधेयकअनुसार सङ्घीय निजामती सेवाको शाखा अधिकृत पदमा प्रवेश गरेको कर्मचारीको वृत्ति प्रणाली सहसचिवमा अन्त्य हुने देखिन्छ । हाल शाखा अधिकृतको सेवा प्रवेशको औसत उमेर २८ वर्ष रहेको, बढुवाको लागि सामान्यतया १२ वर्ष लाग्ने र शाखा अधिकृतमा प्रवेश गरेको कर्मचारी ५२ वर्षको उमेरमा मात्र सहसचिवको पदमा बढुवा हुने भएकोले आन्तरिक प्रतिस्पर्धा गर्ने अवसर बिना सो व्यक्ति विशिष्ट श्रेणी(सचिव) बन्ने सम्भावना रहँदैन ।

अन्तर तह तथा खुला प्रणालीबाट उप सचिव तथा सहसचिवमा सेवा प्रवेश गर्ने कर्मचारी औसतमा ४० वर्षभित्र सेवा प्रवेश गर्ने र निजहरू बाहेक अन्य कर्मचारीहरू सचिव पदमा बढुवा हुने सम्भावना रहँदैन । यसले निजामती प्रणालीमा पदसोपान र चेन अफ कमान्ड कमजोर भई समग्र कार्यसम्पादन स्तर खस्कने देखिन्छ ।

बजारमा रहेका प्रतिभाशाली व्यक्तिहरूका लागि निजामती सेवाको सेवा सुविधा बजार मूल्य भन्दा अत्यन्तै न्यून हुने, सेवाको अवधि कम हुने, र निवृत्तिभरणको सुविधा समेत नपाउने अवस्थाले खुला प्रणालीको व्यवस्थाप्रति बाह्य बजारका प्रतिभावान् उम्मेदवारहरू आकर्षित हुने देखिन्न ।

प्रस्तावित प्रावधानले संविधानको मौलिक हकअन्तर्गतको समानताको हकबाट वञ्चित गर्ने (सङ्घीय निजामती सेवामा कार्यरत कर्मचारीहरूलाई प्रतिस्पर्धा गर्ने अवसरबाट वञ्चित गर्ने) देखिन्छ । यसै गरी वृत्ति प्रणाली सुनिश्चित नहुने भएकोले सङ्घीय निजामती सेवा प्रवेशमा आकर्षण घट्ने निश्चित छ । सेवाभित्रका योग्य प्रतिभावान् कर्मचारीहरूलाई टिकाइ राख्न नसकिने अवस्थाको सिर्जना हुनसक्ने देखिन्छ ।

नीतिगत अस्थिरता भई निश्चित समूहले मात्र फाइदा पाउने अवस्था सिर्जना हुनुका साथै कार्यरत कर्मचारीहरूको मनोबल न्यून हुँदा कार्यसम्पादन स्तर घट्नेछ ।

नयाँ प्रविधि र व्यवस्थापकीय शैली सङ्गठनमा भित्र्याउन कठिन हुने मात्र होइन कार्यरत कर्मचारी र नयाँ भित्रिने कर्मचारीबिच सौहार्दता न्यून भई सङ्गठनको समग्र कार्यसम्पादन स्तर कमजोर हुनसक्नेतर्फ बिचार पु¥याउनै पर्छ । संस्थागत स्मरण भएका कर्मचारीहरू नीति निर्माणको तहमा पुग्न नसक्दा नीति निर्माणमा परिपक्वता कम हुन्छ ।

त्यसैले प्रस्तावित विधेयकका कतिपय विषयउपर कर्मचारी वृत्तमा असन्तुष्टि चुलिँदै गएको अवस्थामा केही विकल्पका बारेमा सोच्न जरुरी छ ।

सेवाभित्र कार्यरत कर्मचारीलाई प्रतिस्पर्धाबाट माथिल्लो पदमा पुग्न सक्ने अवसर प्रदान गर्न उप सचिव तथा सहसचिवमा पाँच प्रतिशत खुला, पाँच प्रतिशत अन्तर तह र २० प्रतिशत आन्तरिक प्रतियोगिता कायम गर्ने विकल्पले कर्मचारीको असन्तुष्टिलाई कम गर्न सक्छ । यसै गरी हाल परीक्षाको तयारीका लागि कतिपय कर्मचारीहरू लामो बिदामा बस्दा कार्यालयको काम प्रभावित हुने गरेको समस्या समाधान गर्न विद्यमान परीक्षा प्रणालीमा सुधार गर्दा प्रभावकारी हुन्छ ।

पाठ्यक्रममा सुधार गर्ने, परीक्षाको समय साउन, भदौ महिनामा तोक्ने, परीक्षाको अवधि न्यूनतम कायम गर्ने, परीक्षा केन्द्रहरूको विकेन्द्रीकरण गर्ने, आइसीटीको प्रयोग गर्ने, तथा सेवाभित्र र बाहिरका उम्मेदवारलाई फरक फरक परीक्षा प्रणाली लागू गर्नु राम्रो विकल्प हुनसक्छ । यसबाहेक शाखा अधिकृत(अप्राविधिक पद)को न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर कायम गर्नुपर्छ ।

सेवाभित्रका कर्मचारीहरू माथिल्लो पदमा खुल्ला प्रतियोगितामा सहभागी हुन पाउने व्यवस्था गर्नुपर्छ । यसरी सेवाभित्रका कर्मचारीहरूले प्रतिस्पर्धा गर्दा उमेर हद नलाग्ने र सेवाको निरन्तरता रहने व्यवस्था गर्नुपर्छ । प्रतिस्पर्धात्मक प्रणालीले कर्मचारीलाई अध्ययनशील, नवीन प्रविधि र अवधारणाहरूको अवलम्बन एवं प्रयोग गरी सेवा प्रवाह र कार्यसम्पादनमा सुधार ल्याउन सहयोग गर्छ । यसले नकारात्मक व्यवहार नियन्त्रण गर्दै सदाचारी एवं नैतिकवान् बनाउन टेवा दिने र सार्वजनिक नीति तर्जुमा तथा विश्लेषणलाई प्रभावकारी एवं लागत प्रभावी बनाउन नेतृत्वलाई सहयोग पुर्‍याउने भएकोले आन्तरिक प्रतियोगितालाई निरन्तरता दिनु प्रभावकारी विकल्प हुन सक्छ ।

प्रस्तावित बढुवा प्रणालीमा पनि असन्तुष्टि देखिएकाले त्यसतर्फ ध्यान दिएर सुधार गर्दा समग्र कर्मचारीतन्त्रमा त्यसको सकारात्मक प्रभाव पर्छ । जसअनुरुप शाखा अधिकृत स्तरमा ७० प्रतिशत खुला, २० प्रतिशत कार्यक्षमता र अनुभव, १० प्रतिशत अन्तर तह प्रतिस्पर्धा कायम गर्ने व्यवस्था गर्नु उपयुक्त हुन्छ । हुनुपर्छ । उप सचिव स्तरमा ९० प्रतिशत ज्येष्ठता र कार्य सम्पादन, पाँच प्रतिशत खुला र पाँच प्रतिशत अन्तर तह प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने व्यवस्था मिलाउनु पर्छ ।
सहसचिव स्तरमा शत प्रतिशत (१०० प्रतिशत) ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट पदपूर्ति गर्ने र यसरी पदपूर्ति गर्दा कार्यसम्पादन मूल्याङ्कनलाई वस्तुनिष्ठ बनाइनुपर्छ ।

सङ्गठन र कर्मचारीहरूको वस्तुनिष्ठ कार्यसम्पादन सूचक तोकी सोको आधारमा कर्मचारीलाई जिम्मेवार र उत्तरदायी बनाउनेतर्फ पहल गर्नुपर्छ । कार्य सम्पादन सूचकको आधारमा निरन्तर मूल्याङ्कन गर्ने र सुपरिवेक्षकलाई थप अधिकार दिई निरन्तर कार्य सम्पादन स्तर न्यून रहेका कर्मचारीहरूलाई निजले कारबाही गर्न सक्ने प्रावधान राख्नु उपयुतm हुन्छ । कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनलाई सङ्गठनको समग्र कार्य सम्पादन स्तरसँग आबद्ध गर्नुका साथै आन्तरिक प्रतिस्पर्धात्मक परीक्षाको पाठ्यक्रम र परीक्षा विधिमा सुधार गरी कार्य सम्पादन मूल्याङ्कनको अङ्कलाई समेत प्रतिस्पर्धाको अंश कायम गरिनुपर्छ ।

बढुवा प्रणालीलाई कार्यसम्पादनमा आधारित पारदर्शी र अनुमान योग्य बनाउन जोड दिनुपर्छ । कर्मचारीहरूलाई गैर मौद्रिक प्रोत्साहन (बिमा, शैक्षिक वृत्ति, सन्तति वृत्ति, पूर्ण स्वास्थ्य उपचारको व्यवस्था, आवास सुविधा आदि) वृद्धि गरी सङ्गठनप्रति प्रतिबद्ध बनाउने र मनोबल उच्च राख्ने व्यवस्था गर्नुपर्छ ।

काठमाडौँ उपत्यका बाहिर निश्चित अवधि काम नगरे सम्म प्रतिस्पर्धात्मक परीक्षा र बढुवामा उम्मेदवार हुन नपाउने,बढुवाको लागि स्थानीय तहका अतिरिक्त अन्य निकायमा काम गरेका कर्मचारीलाई उम्मेदवारको रूपमा योग्य हुने व्यवस्था कायम गरिनुपर्छ । भौगोलिक क्षेत्रको कार्य अनुभवलाई हेर्ने, काठमाडौँ महानगरपालिकामा कार्यरत कर्मचारी बढुवाको लागि योग्य हुने तर हुम्ला जिल्ला हुलाक कार्यालयमा कार्यरत कर्मचारी योग्य नहुने व्यवस्था न्यायोचित देखिँदैन ।

समावेशीकरणलाई अधिकृत स्तरको प्रवेश विन्दुमा मात्रै राख्ने र निजामती सेवामा आरक्षणको प्रतिशत साबिककै कायम राखिनुपर्छ । सङ्घीय निजामती सेवालाई तहगत प्रणालीमा लैजानु आजको आवश्यकता भएकाले त्यसतर्फ सरोकारवालाले ध्यान दिनु जरुरी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस