डोटी । भूकम्प सुरक्षा दिवस २०७६ डोटीमा पनि विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइने भएको छ ।
बिहीबार जिल्ला प्रशासन कार्यालय डोटीमा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको संयोजकत्वमा बसेको बैठकले अर्को महिनाको माघ २ गते २२ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने निर्णय गरेको हो ।
सर्वपक्षीय बैठकले दिवसको अवसरमा जिल्ला भरिका विद्यालयहरूमा सचेतनामूलक कार्यक्रमहरू आयोजना गर्न र माघ २ गते सदरमुकाम स्थित विद्यालयमा अध्ययनरत ९ देखि १२ कक्षा सम्मका विद्यार्थिहरुलाई जिल्ला समारोह कार्यक्रममा सहभागी गराउन शिक्षा विकास तथा समन्वय इकाईलाई जिम्मेवारी दिने, स्थानीय स्तरमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्न स्थानीय तहसँग समन्वय गर्ने, जोखिम न्यूनीकरण र पुर्वतयारीका विषयमा जन चेतना मूलक सन्देश प्रकाशन तथा प्रसारण गर्न नेपाल पत्रकार महासघंलाई समन्वय गर्ने जिम्मेवारी दिने,माघ २ गते दिवस समारोहको दिनमा विभिन्न सांस्कृतिक कार्यक्रम, प्रभाव फेरी कार्यक्रम लगायतका अन्य कार्यक्रमको व्यवस्थापनका लागि ५ सदस्यीय उप समिति गठन गर्ने लगायतका निर्णयहरू गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।
उनले भने, ‘गृह मन्त्रालय विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखा सिंहदरबार प्राप्त पत्रानुसार भूकम्प सुरक्षा दिवसको अवसरमा जिल्लामा विभिन्न क्रियाकलापहरू गर्न छलफल गर्ने भनी आएको पत्रानुसार विविध कार्यक्रम गर्ने निर्णय गरेका हौ’ तय गरिएका कार्यक्रमहरूलाई उपलब्धिपूर्ण रूपमा सम्पन्न गर्न सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने समेत प्रजिअ पौडेलले बताए ।
सर्वपक्षीय बैठकमा राजनीतिक दल, सुरक्षा निकाएका प्रमुख, सरोकारवाला निकाय, पत्रकार गैर सरकारी संस्थाका प्रतिनिधि लगाएको सहभागिता रहेको थियो ।