सहयोग पछि लक्ष्मीको परिवारमा खुसी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सहयोग पछि लक्ष्मीको परिवारमा खुसी


५ पुस २०७६, शनिबार


काठमाडौँ । लक्ष्मी थापामगरको मुहारमा चकम छाएको छ । शरीर नै नचल्ने भएर तीन वर्षदेखि ओछ्यानमा थलिएकी नीलकण्ठ नगरपालिका १२ की लक्ष्मी ओछ्यानमै दिशापिसाव गर्नुपर्ने अवस्थाबाट बोल्न र हिँडडुल गर्न सक्ने अवस्थामा पुगेपछि उनको परिवारमा खुसीयाली छाएको छ ।

गरिबीले आत्महत्यापछि तीन बच्चा भोकै भन्ने समाचार प्रशासन डटकममा प्रकाशन पछि लक्ष्मीको स्वास्थ्य उपचारसँगै बालबच्चाको पढाइमा समेत सहयोगी हातहरू जुटेका थिए । बोल्न समेत नसक्ने भई अचेत अवस्थामा ओछ्यानमा थला परेकी लक्ष्मी थापामगरलाई ह्याम्स अस्पतालको डाक्टर सहितको टोलीले धादिङबाट एम्बुलेन्समा ल्याई अस्पताल भर्ना गरको थियो ।

करिब महिना दिनको उपचार पछि लक्ष्मी थापामगर बोल्न राम्ररी बोल्न थाल्नुका साथै हिँडडुल गर्ने तथा स–साना कामहरूसमेत गर्न सक्ने भएकी छिन् । अरूले खाना खुवाइदिनु पर्ने अवस्थामा रहेको बिरामी बोल्न सक्ने, हिँडडुल गर्न सक्ने र सानातिना काम गर्न सक्ने अवस्थामा पु¥याएर डिस्चार्ज गरिएको ह्याम्स अस्पतालका डा. रमन कोइरालाले बताए ।

‘स्वास्थ्य राम्रो भएपछि हामीले डिस्चार्ज गरेका छौँ’ उनले भने, ‘अब रिकभरिको आवश्यकता बढी छ ।’

ह्याम्स अस्पतालका अध्यक्ष आर एस भण्डारीले लक्ष्मी थापामगर परिवारको उपचार आजीवन निःशुल्क गर्ने प्रतिबद्धता जनाएका छन् ।

शरीरभरी कालो फोकाहरूसहित रौँ पलाएकी कान्छी छोरी ७ वर्षीया सोममायाको पनि प्लाष्टिक सर्जरी गर्न मिल्ने चिकित्सकले बताएका छन् ।

सोममायालाई ‘कन्जेनाइटल मेलानोसाइटिक निभाइज’ भएको र केही समयपछि सर्जनको टिमले प्लाष्टिक सर्जरी गर्ने छाला रोग विशेषज्ञ कमलराज धितालले जानकारी दिए । जाँच गर्दा प्लास्टिक सर्जरी गरेर नयाँ छाला फेर्नु पर्ने देखिन्छ, डा. धितालले भने, ‘प्लास्टिक सर्जरीको टिमले अप्रेसन गर्ने भनेको छ, चार/पाँच पटक नै गरेपछि छालामा भएको कालो र रौँहरू हटाउन सकिन्छ’

ज्याला मजदुरी गर्दै परिवार पालिरहेका यमबहादुरले छोराछोरीको पठनपाठनसँगै श्रीमतीसमेत थलिँदा थप उपचार गर्न नसक्ने देखेपछि घरसँगको रुखमा पासो लगाएर आत्महत्या गरेका थिए । घरमुलीले नै नरहेपछि ७ वर्षिया छोरी सोममाया, १२ वर्षिया करिना र १० वर्षीय छोरा काजी थापामगरले बिरामी आमाको स्याहारसँगै भोकभोकै स्कुल जान बाध्य थिए ।

सम्बन्धित समाचार : गरिबीले आत्महत्या पछि तीन बच्चा भोकै

घरमा खानेकुरा सकिएपछि भोकभोकै स्कुल आएको थाहा पाएपछि अध्ययनरत स्कुल सांकोष माध्यमिक विद्यालयले विध्यार्थिहरुसँग उठाएर भए पनि खानासम्म जुटाएका थिए ।

चरम गरिबीले पिल्सिएको परिवारको दर्दनाक अवस्थाबारे संवाददाता शर्मिला तिमल्सिनाले लेखेको समाचार प्रकाशन डटकममा प्रकाशित भएपछि देशविदेशमा सहयोगी हातहरू जुटेका थिए ।

सम्बन्धित समाचार : करिना परिवारलाई सहयोगका लागि बैङ्क खाता

अहिले विद्यालयले खोलेको राष्ट्रिय वाणिज्य बैङ्कको खातामा ११ लाख रुपैयाँ जम्मा भएको छ भने वडा कार्यालयले खोलेको सानिमा विकास बैङ्कको खातामा ३ लाख रुपैयाँ जम्मा भएको छ ।

यससँगै तीनै जना बालबालिकाको लागि एक वर्षलाई पुग्ने कापी कलम र स्टेशनरी सामानहरू जुटेको छ भने विद्यालयले कुनै शुल्क नलिने घोषणा गरेको साङकोष माविका शिक्षक राम लामिछानेले बताएका छन् ।

साथै प्रधामन्त्रिपत्नि राधिका शाक्यले अस्पतालमै आएर सरकारको तर्फबाट सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

शाक्यले आमा र बालबालिकाको भविष्य सुरक्षित बनाउन विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको शिक्षक लामिछानेले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस