काठमाडौं । माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनाका लागि ५० अर्ब बराबरको वैदेशिक लगानी सम्झौता भएको छ । रसुवामा निर्माण हुने २१६ मेगावाटको जलविद्युत आयोजनाका लागि शुक्रबार काठमाडौंमा हस्ताक्षर भएको हो ।
यो लगानी नेपालको हालसम्मकै यो ठूलो वैदेशिक लगानी भएको बताइएको छ ।
नेपाल वाटर तथा इनर्जी डेभलपमेन्ट कम्पनी प्रवर्दक रहेको आयोजनामा नौवटा अन्तराष्ट्रिय वित्तीय संस्थाले लगानी गरेका छन् ।
आयोजनामा विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमले १६ करोड १३ लाख, एसियाली विकास बैंकले ६ करोड, एसियाली पूर्वाधार विकास बैंकले ३ करोड ९६ लाख, कोरियाली एक्जिम बैंकले १० करोड, कोरिया डेभलपमेन्ट बैंकले ३ करोड ८ लाख अमेरिकी डलर लगानी गर्ने भएका छन् ।
बेलायतको सिडिसी ग्रुपले २ करोड १९ लाख, नेदरल्यान्ड डेभलपमेन्ट फाइनान्स कम्पनीले १ करोड ५४ लाख, फ्रेन्च डेभलप फाइनान्सियल इन्स्टिच्युटले १ करोड १० लाख र ओपेक फन्डले १ करोड ३२ लाख अमेरिकी डलर ऋण लगानी गर्ने भएका छन् ।
हस्ताक्षर समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडा र ऊर्जामन्त्री वर्षमान पुन उपस्थिति थिए ।