काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)लगायतका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न बिहीबार ग्राण्डी अस्पताल पुगेका छन् ।
अध्यक्ष प्रचण्डसहित नेताहरु नारायणकाजी श्रेष्ठ र नेता भीम रावल प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका हुन् ।
मृर्गौंलाको डाईलायसिस गराइरहेका प्रधानमन्त्री ओलीलाई भेटन नेताहरु बिहीबार दिउँसो छुट्टाछुट्टै अस्पताल पुगेका थिए । तर उनीहरुले भेट्न भने सकेनन् ।
प्रधानमन्त्री ओलीको बुधबारदेखि ग्राण्डी अस्पतालको आईसीयूको बेड नम्बर १४१६ मा राखेर उपचार भइरहेको छ । बुधबार पहिलो पटक डायलाइसिस भएको प्रधानमन्त्री ओलीको बिहीबार पनि डायलाइसिस भइरहेको छ ।
बिहीबार दोस्रो पटक डायलाइसिस भइरहेकाले दुवै अध्यक्षबीच दोहोरो कुराकानी नभए पनि ‘प्रचण्ड’ले चिकित्सकहरुसँग उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रधानमन्त्रीको स्वास्थ्य जाँच गराइरहेका एक चिकित्सकले जानकारी दिए ।
त्यसैगरी प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न सो अस्पताल पुगेका नेकपाका नेता भीम रावलले मृर्गौलाको डाईलायसिस भइरहेकाले प्रधानमन्त्रीसँग भेट गर्ने अवस्था नरहेको बताए । उनले चिकित्सकको सल्लाह अनुसार प्रधानमन्त्री ओली छिट्टै अस्पतालबाट डिष्चार्ज हुने बुझिएको पनि बताए ।