धनुषा । मुख्यमन्त्री लालबाबु राउतले कानूनको फितलो कार्यान्वयनका कारण चुरे क्षेत्रको दोहन बढेको बताएका छन् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र मनसुन पूर्वतयारीसम्बन्धी आज जनकपुरमा आयोजित अन्तक्रिया कार्यक्रममा उनले विपद् जोखिम न्यूनीकरणका लागि मानसिक, भौतिक र प्राविधिकरुपमा तयार हुनुपर्ने बताए ।
‘एउटा निकायले बालुवा, गिट्टी उत्खननमा रोक लगाउँछ, अर्कोले उत्खननका लागि आदेश दिन्छ’, उनले भने । प्रदेश २ का जिल्लामा भइरहेको अत्यधिक बालुवा, गिट्टी उत्खननबारे प्रहरी र प्रशासनलाई जानकारी भए पनि चासो नलिएको मुख्यमन्त्री राउतको आरोप थियो । चुरे क्षेत्रमा स्काभेटरको प्रयोग भइरहेको उनले बताए । ‘यसरी कसरी चुरे संरक्षित हुन्छ ?’, मुख्यमन्त्री राउतले भने ।
पूर्व–पश्चिम राजमार्गस्थित धनुषाको कमला र महोत्तरीको रातु नदीमा स्काभेटरको प्रयोग गरी बालुवा र गिट्टी निरन्तर उत्खनन गरिँदै आएको छ । विपद् जोखिम न्यूनीकरण गर्न प्रदेश सरकार प्राधिकरण बनाउने तयारीमा रहेको उनको भनाइ थियो । बालुवा र गिट्टी उत्खननसम्बन्धी अधिकार प्रदेश सरकारलाई दिए पनि स्थानीय तहलाई ठेक्काको अधिकार दिएर जटिल बनाएको उनले बताए । विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीमा तीनै सरकारको सहयोग अपरिहार्य रहेको मुख्यमन्त्री राउतको भनाइ थियो ।
प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विपद् आइसकेपछि व्यवस्थापन गर्नुको साटो पूर्वतयारी अवस्थामा रहनुपर्ने धारणा राखे । अन्तक्र्रियामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विज्ञ गङ्गालाल तुलाधरले नेपालमा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन, विद्यमान प्रावधान तथा मनसुन पूर्वतयारी सम्बन्धमा प्रस्तुतीकरण गरेका थिए । रासस