काठमाडौं । प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी हासिल गरेको छ । लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा आज भएको चौथो संस्करणको उक्त प्रतियोगिताको उद्घाटन खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ३–० को सेटमा पराजित गर्दै विजयी शुरुआत गरेको हो ।
आर्मीले सुदूरपश्चिमलाई पहिलो सेट २५–१० ले जित्यो भने दोस्रो सेट २५–१९ तथा तेस्रो तथा अन्तिम सेट २५–११ को सेटमा पराजित गर्यो । नेपाली सेनाको आयोजनामा भएको उक्त प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेश गरी १० टोलीको सहभागिता छ ।
प्रतियोगिताको विजेता टोलीले रु तीन लाख तथा उपविजेताले रु एक लाख ५० हजार पाउनेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले रु ७५ हजारसहित ट्रफी प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, लिफ्टर, ब्लकर, डिफेण्डर, सर्भर र उत्कृष्ट प्रशिक्षकले जनही रु दश हजार प्राप्त गर्नेछन् ।