काठमाडौं ।वीरगञ्जमा रहकोे एभिन्यूज टेलिभिजनको कार्यालयमा आज युवाको एक समूहले तोडफोड गरेका छन् ।
वीरगञ्ज महानगरपालिका–११ नेशनल ट्रेडिङ चोक नजिकै रहेको एभिन्यूजको कार्यालयमा ६/७ जनाको सङ्ख्यामा गएका युवाको समूहले तोडफोड गरेका हुन् ।
मुख ढाकेर आएका युवाले गरेको आक्रमणमा कार्यालयको गेटको सिसा, ब्यानरलगायतमा क्षति पुगेको पर्सा प्रहरीले जनाएको छ ।
तोडफोड गर्नेमध्येका केही युवाको पहिचान भएको र उनीहरुको खोजी भइरहेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
उनले टेलिभिजन कार्यालयमा जडान भएको सिसी टिभीमा देखिएको तस्बीरको छानबिन भइरहेको र चाँडै घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याई छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
सो घटनाको नेपाल पत्रकार महसंघ प्रदेश नं २ र पर्सा शाखाले आजै विज्ञप्ति प्रकाशित गरी भत्र्सना गरेको छ । साथै घटनामा संलग्नलाई कारवाहीको माग गरिएको छ ।
अन्तरवार्ताको विषयलाई लिएर भएको सो आक्रमणको भत्र्सना गर्दै महसंघ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहानले संलग्नलाई कारवाहीको माग गरेका छन् ।