काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बारा र पर्सामा आइतबार साँझ आएको असिना–पानीसहितको भीषण हावाहुरीका कारण तीन दर्जन बढी व्यक्तिको अकालमै ज्यान गएको र सयौँ घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
सभापति देउवाले आज विज्ञप्तिमार्फत प्राकृतिक विपद्का कारण दिवङ्गत भएका सबैप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् । उनले विपद्मा परी घाइते भएकाको तत्काल उद्धार गरी आवश्यक सम्पूर्ण उपचारको व्यवस्था गर्न र मृतकका परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था तत्काल गर्न सरकालाई आग्रह गरेका छन् ।
सभापति देउवाले कांग्रेस पार्टीको तर्फबाट उपसभापति विमलेन्द्र निधि प्रभावित क्षेत्रमा गएको जनाउँदै सम्बन्धित क्षेत्रका पार्टीका केन्द्रीय सदस्यहरु एवं प्रदेश नं. २, कांग्रेस संसदीय दलका नेता रामसरोज यादव तथा पार्टीका जिल्ला कार्यसमितिहरु, भ्रातृ एवं शुभेच्छुक संघ–संस्थालाई समेत घाइतेको उद्धार, पुनस्र्थापना र राहतमा जुट्नका लागि निर्देशन दिएका छन् ।
उनले मानवीय संवेदनाको यस दुःखद घडीमा तत्काल राहत र उद्धारका लागि सक्रिय रहन आम दिदीबहिनी तथा दाजुभाइमा समेत हार्दिक आग्रह गरेका छन् । कांग्रेस सङ्घीय संसदीय दलले पनि सो घट्नामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्दार, उपचार तथा राहत कार्यमा तीव्रता दिन र विस्थापित परिवारको पुनर्स्थापनका लागि सरकारसँग आग्रह गरेको छ ।
यसैगरी पार्टीका महामन्त्री डा। शशांक कोइरालाले आइतबार साँझ आएकोे भीषण हावाहुरीका कारण बारा र पर्सामा तीन दर्जन बढी व्यक्तिको ज्यान गएको र सयौँ घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले आज विज्ञप्तिमार्फत विपद्मा परी दिवङ्गत भएका सबैप्रति श्रद्धाञ्जलि प्रकट गर्दै मृत आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
महामन्त्री कोइरालाले घाइतेको तत्काल उद्धार र उपचारको प्रबन्ध गर्न तथा मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गर्दै राहत र उद्धारमा जुट्न तथा पीडित परिवारको पुनर्स्थापना सहयोग पुर्याउन सबैमा आग्रह गरेका छन् ।
प्रमुख सचेतक बालकृष्ण खाणले पनि विज्ञप्तिमार्फत यस प्राकृतिक प्रकोपमा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकप्रति श्रद्धाञ्जलि अपर्ण र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।