काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा प्रा.डा. देवनारायण साहलाई नियुक्त गरेका छन् ।
उपप्रधान तथा स्वास्थ्य मन्त्री एवं न्याम्स्का सह कुलपति उपेन्द्र यादवको सिफारिसमा प्रधानमन्त्री एवं न्याम्सका कुलपति ओलीले साहलाई नियुक्त गरेका हुन् ।
यसै गरी उपकुलपति साहको सिफारिसमा उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवले न्याम्सका अन्य पदाधिकारीको पनि आजै नियुक्ति गरेका छन् ।
जसअनुसार पर्साका प्रा.डा.सुबोध कुमार अधिकारीलाई शिक्षाध्यक्ष पाँचथरकी प्रा.प्रमीला देवानलाई रजिस्ट्रार, सुनसरीका प्रा.डा.पियुस दाहाल डिन र सप्तरीका डा.केदार प्रसाद सेन्चुरीलाई वीर अस्पतालको निर्देशकमा नियुक्ति गरिएको छ ।
सबैको पदावधि चार वर्षको हुनेछ । प्रधानमन्त्री ओलीको उपस्थितिमा उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवले उपकुलपति साह लगायत सबैलाई आजै बालुवाटारमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
शपथपछि प्रधानमन्त्री ओलीले भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने कार्य तत्काल अघि बढाउन निर्देशन दिएका छन् । ‘ पाँच सय रोपनी क्षेत्रफलमा भक्तपुरमा सुविधा सम्पन्न अस्पताल बनाउने कार्य तत्काल थालनी गर्नुहोस् । त्यो काम तपाईँहरूकै कार्यकालमा सम्पन्न हुनुपर्दछ’ प्रधानमन्त्री ओलीले भने ‘अहिलेको वीर अस्पताललाई सिटी अस्पतालको रूपमा सञ्चालन गर्नुपर्दछ ।’
प्रधानमन्त्री ओलीले वरिष्ठ डाक्टरहरूले अस्पतालमा बिरामीको उपचार नगर्ने गलत संस्कार बसेकोले त्यसलाई तोड्न निर्देशन निर्देशन दिएका छन् । ‘सिनियर भएपछि काम गर्नु नपर्ने गलत संस्कारको विकास भएको देखिन्छ । सिनियरको अनुभवले बिरामीको उपचार गर्दा त्यसबाट बिरामीले पाउने लाभ अधिक हुन्छ’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मीहरूलाई बिरामीलाई गर्ने व्यवहार सुधार गर्न आग्रह गरेका छन् । उनले डाक्टर नर्सले बिरामीप्रति मायालु व्यवहार गर्न आग्रह गर्दै उनीहरूको व्यवहारले बिरामीले राहत महसुस गर्ने बताए ।