काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन र समृद्धिको यात्रा शुरु गरेका बेला ‘स्वतन्त्र मधेस गठबन्धन’ सँगको राजनीतिक सहमतिसँगै अब मुलुकमा हिंसाको बाटो अन्त्य भएको बताएका छन् ।
नेपाल सरकार सो गठबन्धनबीचको राजनीतिक सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासन र विकास लहर चलिरहेका बेला उक्त सहमतिले देश टुक्र्याउने नाममा स्वार्थको रोटी सेक्नेहरुको रोटी काँचो पल्टिएर जाने उल्लेख गरे । उनले भने, ‘नेपाल एउटा सार्वभौम राष्ट्र हो । यसको जमीन एक इञ्च पनि कसैलाई छुट्याउन, टुक्र्याउन वा दिन मिल्दैन । त्यसका नाममा कुनै सहमति हुन सक्दैन ।’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले संविधानले सार्वभौमसत्ता सुनिश्चित गरेकाले जनताका सबै समस्याको समाधान शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट जनताको अभिमत लिएर संसद् बनाउन, सरकार गठन र संविधान सशोधन गर्न सकिने पनि स्पष्ट पारे ।
सरकारले सबै पक्ष र देशवासीमा समस्यालाई आफ्नो समस्या ठानेर फराकिलो दायराका साथ राष्ट्र निर्माण गर्न चाहेकाले यसमा सहयोग पुर्याउनसमेत उनले सबैमा आह्वान गरे ।
गठबन्धनका संयोजक डा चन्द्रकान्त (सिके) राउतलाई असाधारण निर्णय गर्न सक्ने अध्यक्ष प्रचण्डसँग तुलना गर्दै प्रधानमन्त्री ओलीले ‘शान्तिको पक्षपोषण गर्ने’ राउतमा पनि त्यस्तै छाँटकाँट देखिएको भनी प्रशंसा गरे ।
इञ्जिनीयर र वैज्ञानिक (टेक्नोक्र्याट) रहेका राउत गलत बाटोमा गएर बिग्रने हो कि भन्ने चिन्ता आफूमा पनि रहेको उल्लेख गर्दै प्रधामन्त्री ओलीले राउत प्राविधिक मात्र नभएर प्रबुद्ध व्यक्ति (थिङ्क ट्याङ्क) समेत भएको पाइएको चर्चा गरे । सरकार र गठबन्धनबीच आज ११ बुँदे सहमति भएको थियो ।
प्रधानमन्त्री ओलीले सरकारले पानीजहाज र रेलका कार्यक्रम ल्याउँदा गलत भयो भनेर भ्रम फिँजाइएको जिकिर गर्दै सबै बजेट र जनशक्ति पानीजहाजका लागि नभई जम्मा १६ कर्मचारी मात्र खटाइएको उल्लेख गरे । उनले प्रश्न गर्दै भने, ‘हो मानिसलाई पनि खाना चाहिन्छ तर यसो भन्दैमा शिक्षा, सडक, पूर्वाधार विकास चाहिँदैन रु त्यसो हो भने हामीले कहिले समृद्धि हासिल गर्ने ?’
मुलुकमा सुशासन कायमका लागि भ्रष्टाचारका घटनामा कारवाही हुन थालेको उल्लेख गर्दै उनले विगतमा भ्रष्टाचार हुने गरेको र वर्तमान सरकारले कारवाही थालेको जिकिर गरे ।
सरकार र अदालतलाई एकै रुपमा नहेर्न आग्रह
सांसद रेशम चौधरीका सम्बन्धमा अदालतले गरेको फैसलाका सम्बन्धमा राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थनसँग जोडेर आएको प्रतिक्रियाबारे प्रधानन्त्री ओलीले भने, ‘अदालत राज्यको अङ्ग भए पनि सरकारको अङ्ग होइन । अदालत र सरकारको काम अलग अलग हो ।’
उनले भने, ‘आवेश र उत्तेजनामा आएर राष्ट्रको एकतामा फाटो ल्याउने राजनीति नगर्न म आग्रह गर्छु । विगतमा फरक ढङ्गले राजनीतिमा लागेका कार्यकर्ताहरु कुनै अलमलमा पर्नु पर्दैन । अनेकतामा एकता नेपालीको विशेषता हो । समृद्धि र एकताको बाटोमा सामेल हुन आग्रह गर्दछु ।’
‘कम्युनिष्टका नाममा लुट सहिन्नँ’
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधिलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले कम्युनिष्टको बर्को ओडेर जनतामा लुट नगर्न चेतावनी दिँदै त्यस्ता कामले कम्युनिष्यट पार्टीको बदनाम हुने भएकाले सो पार्टीलाई नाम परिवर्तन गर्न सुझाव दिए । उनले भने, ‘शान्ति सुरक्षा कायम राख्ने जिम्मेवारी पूरा गर्न बम पड्काउने, टुट्ने र घरमा बन्दुक राख्नेहरुलाई सरकारले खानतलासी गरी कारवारी गर्छ ।’
अब मूलधारको राजनीति गर्छु : राउत
कार्यक्रममा गठबन्धनका संयोजक डा राउतले मधेशका समस्या समाधान गर्ने सन्दर्भमा भएको सहमतिको नेपालको राजनीतिक इतिहासमा ऐतिहासिक स्थान रहेकाले सबैलाई खुशी तुल्याएको बताए।
उनले भने, ‘केही वर्षदेखि देशमा विकराल समस्याका रुपमा उठेको मुद्दाप्रति राज्य र हामी कसरी समाधान गर्ने भन्नेमा निकै चिन्तित थियौँ । यो विषय आज सहज, शान्तिपूर्ण र सुरक्षित रुपमा अवतरण भएको छ । आज यो दिन साँच्चिकै ऐतिहासिक रहेको छ ।’
राउतले भने, ‘हामी बुद्धका सन्तान हौँ, अहिंसा हाम्रो भाव हो, गान्धी र बुद्धको आदर्श मान्दै आएका थियौं, राज्यद्वारा दमन गरिए पनि हामीले कहिल्यै प्रतिशोध गरेनौँ, बरु दमन गर्नेलाई गुलावको फूल दिने अभियान चलाएका थियौँ । वर्तमान सरकारले सहमति गराएको छ ।’
प्रधानमन्त्री ओलीले आफ्नो स्तरबाट मुद्दाको पक्षलाई बुझेर राजनीतिकरुपमा प्रयत्न र सन्देश प्रदान गरेको भनी त्यसका लागि उनी धन्यवादका पात्र भएको राउतले जनाए । सकारात्मक सोचका आधारमा मुलुकलाई समृद्धितर्फ अघि बढाउन सबैलाई साथ र सहयोग पुर्याउने आग्रह पनि उनले गरे।
उनले आफ्नो अधिकारको लागि आफूहरु लडेको उल्लेख गर्दै समुदाय समुदायबीच फाटो ल्याउने पक्षलाई स्थान नदिइ विकास, समृद्धि र सुख प्राप्तिको कामका लागि सबै लाग्न आग्रह गरे ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी थिए ।