नेपालगञ्ज । नेपालगञ्जस्थित निलसागर असहाय, अशक्त तथा ज्येष्ठ नागरिक केन्द्रलाई तीन लाख सहयोग प्राप्त भएको छ ।
नेपालगञ्जका प्रतिष्ठित व्यक्तिहरुको मर्निङवाक समूहले तिहारमा देउसीभैलो खेलेर सङ्कलन गरेको उक्त रकम केन्द्रलाई प्राप्त भएको हो ।
केन्द्रमा सोमबार आयोजित कार्यक्रममा देउसीभैलो समूहका संयोजक एवं नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनौडियाले केन्द्रका अध्यक्ष सरिता खनाललाई रु दुई लाख ७५ हजारको बैंक दाखिलाको भौचर र २५ हजारको चेक हस्तान्तरण गरेका थिए ।
सो अवसरमा डा. कनौडियाले मर्निङवाक समूहका तर्फ बाट भोलिका दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्जका प्रमुख चन्द्रकान्त चपागाईंले मर्निङवाक समूहको यो सहयोग मानवीय भावनाले ओतप्रोत छ भने । निलसागर केन्द्रमा हाल ३८ असहाय वृद्धवृद्धा तथा बालबालिका छन् । मनकारीको सहयोगले केन्द्रको खर्च चलिरहेको अध्यक्ष खनालले बताए ।
यसैबीच, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले आफ्नो एक महीनाको तलबभत्ता यहाँका मुस्लिम अनाथ बालबालिकालाई प्रदान गरेका छन् ।
चुनावका बेला आफूले पाउने तलबभत्ता व्यक्तिगत प्रयोजनमा खर्च नगर्ने घोषणा गरेका नगरप्रमुख राणाले सोमबार स्थानीय गौसिया जाउल इस्लाम मदरसामा अध्ययनरत अनाथ बालबालिकालाई ५० हजार सहयोग गरेका हुन् ।
नगरप्रमुख राणाले जाडोमा न्यानो लुगा/कपडा किन्नका लागि सो रकम प्रदान गरेको बताए । मुस्लिम समुदायका अगुवासहितको उपस्थितिमा भएको कार्यक्रममा डा. राणाले सो रकम बराबरको चेक मदरसाका अध्यक्ष मोहम्मद याकुम हलवाइलाई हस्तान्तरण गरोका थिए ।
यसअघि नगरप्रमुख राणाले यहाँका करीब १० संस्थालाई आफ्नो तलबभत्ता उपलब्ध गराइसेका छन् ।