काठमाडौँ । गरिबी निवारण कोषमा कार्यरत कर्मचारीको करार अन्त्य गरिएको छ ।
विश्व वैंकको परियोजना सकिएसँगै वैंकको अनुदानबाट तलब खाइरहेका करिब ६० जना कर्मचारीको करार अन्त्य भएको हो । मंसिर १४ गते नै सबै कर्मचारीलाई करार अन्त्य भएको पत्र दिइएको छ । करार अन्त्य भएका कर्मचारीले पुस १७ पछि अवकाश पाउनेछन् ।
‘गरिबी निवारण कोषको विश्व वैंकसँगको सम्झौता डिसेम्बर ३१, २०१८ तदनुरुप १६ पुष, २०७५ मा सम्पन्न हुन गइरहेकोले व्यहोरा मिति २०७५/०४/२२ को पत्र मार्फत यहाँलाई जानकारी गराई सकिएकै छ पत्रमा भनिएको छ,’–’विश्व बैंककोसँगको सम्झौता यही डिसेम्बर ३१, २०१८ मा सम्पन्न हुन गइरहेको र कोषमा अन्त्य वैकल्पिक स्रोतबाट बजेट व्यवस्था हुन नसकेको हुँदा यस कोष र तपाईँ बिच सम्पन्न करारनामा मिति २०७५/०९/१७ देखि लागु हुने गरी अन्त्य गरिएको व्यहोरा मिति २०७५/०८/१४ को उपाध्यक्ष स्तरीय निर्णयानुसार जानकारी गराइएको छ ।’
अधिकृतले न्यूनतम एक लाख तलब खाँदै आएको कोषमा कार्यालय सहयोगीलेसमेत ३५ हजार तलब बुझ्दै आएका थिए । कोषको उपाध्यक्षको पारिश्रमिक १ लाख ६० हजार र कार्यकारी निर्देशकले एक लाख ४० हजार रहेको छ ।
गरिबी निवारण कोषले पछिल्लो समय उद्येश्य अनुसार काम गर्न नसकेकोदेखि कार्यालयभित्रै यौन दुर्व्यवहार र भ्रष्टाचार जस्ता घटनाले बदनामित भइरहेको थियो ।