झापा । दमक नगरपालिका–८ की बोनम्यारो रोगी १५ वर्षीया स्यारोन लिम्बूलाई उनका सहपाठी र विद्यालयले ५२ हजार ५०० आर्थिक सहयोग प्रदान गरेका छन् ।
बिरामीको उपचारमा सहयोग पुर्याउन उक्त सहयोग रकम स्कूलका क्याप्टेन प्रेरणा मगर र स्कूलकी अध्यक्ष इन्दिरा सुवेदी प्याकुरेलले विद्यार्थीसहित विद्यालयले रकम सङ्कलन गरी बिरामीका बुबा विकास लिम्बूलाई सो सहयोग दिएका हुन् ।
दमक–८ स्थित एभरेस्ट बोर्डिङ स्कूल कक्षा ९ मा अध्ययनरत् स्यारोनको विगत पाँच वर्षदेखि रक्त क्यान्सरसँगै बोनम्यारो उपचार भइरहेको छ । स्कूलकी अध्यक्ष सेवुदीका अनुसार विद्यार्थीले खाजा खर्च कटाएर बिरामी परेकी आफ्ना सहपाठीको उपचारमा थोरै भए पनि सहयोग पुर्याउन एकै दिन २१ हजार रुपैयाँ सङ्कलन गरेका थिए । त्यसमा विद्यालयले थप रु ३१ हजार ५०० जुटाएर पीडित परिवारलाई हस्तान्तरण गरिएको उनले जानकारी दिए ।
यसैबीच बोनम्यारो रोगी छोरीको उपचारमा सहयोग गरिदिन बुबा विकासले सबैसँग सहयोगको याचना गरेका छन् । बिरामीको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले सल्लाह दिएपछि त्यतिका उपचार गर्न परिवारसँग आर्थिक अवस्था नभएकाले सहयोगका याचना गर्नु परेको राष्ट्रिय खेलकूद परिषद्का कराँते प्रशिक्षकसमेत रहेका बुबा विकासले बताए। उनले पाँच वर्षयता छोरीको उपचारमा घर र जग्गा बेचेर करीब ३६ लाखभन्दा बढी खर्च गरे पनि बिरामीको अवस्थामा सुधार नआएपछि थप उपचारका लागि सहयोगको अपेक्षा गरेका छन् ।