काठमाडौं । स्थानीय तहले भवन निर्माण गर्न पाँच करोडदेखि १५ करोडसम्म पाउने भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन वर्षभित्रमा सबै स्थानीय तहका भवन बनाउन पाँचदेखि १५ करोड पाउने भएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।
मन्त्रालयले उक्त रकम बाँड्न अहिले ‘स्थानीय तहको भवन प्रशासनिक निर्माणसम्बन्धी कार्यविधि २०७५’ ल्याउन लागेको छ । मन्त्रालयले महानगरको भवन निर्माण गर्न रु १५ करोड, उपमहानगरपालिकालाई १० करोड, नगरपालिकालाई आठ करोड र गाउँपालिकालाई पाँच करोड रकम दिने भएको छ । आफ्ना भवन नहुँदा स्थानीय तहलाई काममा समस्या भएको छ । “सबै स्थानीय तहको भवन तीन वर्षभित्रमा बनाउन हामीले बजेट विनियोजन गरेका हौँ,” उनले भने ।
मन्त्रालयले सवै वडा कार्यालयका लागिसमेत बजेट विनियोजन गरेको छ । प्रवक्ता अधिकारीका अनुसार कार्यविधिमा महानगर र नगरपालिकाका वडा कार्यालय बनाउन एक करोड ५० लाख र गाउँपालिकाका वडा कार्यालय बनाउन एक करोड दिइने उल्लेख छ । सात सय ५३ स्थानीय तहमा करीब छ हजार ६६८ वडा कार्यालय छन् । रासस