काठमाडौं । कृषि सडकलाई मनपरीरूपमा फराकिलो पारेको भन्दै किसानहरूले सर्लाहीका चन्द्रनगर गाउँपालिका घेराउ गरेका छन् । त्यसअघि उनीहरूले गाउँपालिकाविरुद्ध नारा र जुलुस गरेका थिए ।
१० फिट चौडा कृषि सडकलाई मनपरीरूपमा ३६–४० फिट बनाइएको भन्दै उनीहरू आन्दोलित बनेका हुन् ।
किसानको हकहितका लागि गठित किसान संघर्ष समिति सदस्य महावीर महतोका अनुसार नारिमनटोल–पाकवाबान–बबरगन्ज, नारिमनटोल–गाह्राटोल–कोरियाहीतटोल र पोखरिया महादेवमठ–बिलैया बजार सडकखण्ड मनपरी रूपमा बनाइएको छ ।
विनास निम्त्याउने हिसाबले सडक बनाइएको उनको आरोप छ ।
गाउँपालिकाले सडक बनाउने नाममा खेतीयोग्य उर्वर भूमिलाई जबरजस्ती अधिग्रहण गरेको र बाँकी जग्गामा ८–१० फिट गहिरो माटो उत्खनन् गरी सडक छेउको सम्पूर्ण जग्गाको खेती गर्ने बनावटलाई बिगारेको किसानको आरोप छ ।
यति मात्र होइन, सडक बनाउने ठाउँमा सूचना बोर्ड पनि नराखेको र मुआब्जाबारे किसानलाई सहमति नगराइएको किसानको आरोप छ । सडक निर्माणमा स्थानीय तहले आर्थिक चलखेल भएको उनीहरूको आरोप छ ।